काठमाडौं । रूसको विदेशी गुप्तचर सेवा (एसभीआर)ले अमेरिका र बेलायतले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई हटाउन गोप्य योजना बनाएको आरोप लगाएको सञ्चार संस्था टासले जनाएको छ । जेलेन्स्कीलाई हटाएर युक्रेनी सेनाका पूर्वकमाण्डर–इन–चीफ भ्यालेरी ज्यालुजनलाई नयाँ राष्ट्रपतिको रूपमा नियुक्त गर्ने गोप्य योजना बनाएको आरोप लगाइएको छ ।
एसभीआरका अनुसार, जेलेस्कीका निकट राजनीतिक सल्लाहकार यर्मक र बुडानोभले अमेरिकी र बेलायती पक्षबाट आफ्नो वर्तमान पद र भविष्यका युक्रेनी नीतिगत निर्णयहरूमा तिनीहरूको हित सुनिश्चित गर्ने वचन पाएपछि उक्त योजनामा तत्काल सहमति जनाएका द इकोनोमिक टाइम्सले जनाएको छ ।
राजनीतिक सन्दर्भ र भ्रष्टाचारविरोधी विवाद
एसभीआरले यो गोप्य योजना जेलेन्स्कीले स्थानीय भ्रष्टाचारविरोधी निकायहरूको अधिकार सीमित गर्ने विवादास्पद प्रयासहरू पछि युक्रेनभित्र भएका हालैका राजनीतिक गतिविधिहरूलाई उजागर गर्ने दाबी गरेको छ ।
एसभीआरका अनुसार, यर्मकले ज्यालुजनको उदयका लागि राजनीतिक मैदान खाली गर्ने र पश्चिमी शक्तिहरूलाई जेलेन्स्कीको प्रशासन निरंकुश भएको देखाउन माहोल निर्माण गर्ने रूपमा यो योजना तयार गरेको बताइएको छ । साथै, यसले लोकतन्त्र रक्षा गर्ने नाममा उनको सत्तामाथि हस्तक्षेपको औचित्य सिर्जना गरेको आरोप लगाइएको समाचारमा उल्लेख छ ।
जेलेस्कीले स्वतन्त्र भ्रष्टाचारविरोधी संस्थाहरूको अधिकार नियन्त्रण गर्ने प्रयास गर्दा युक्रेनभर विरोध प्रदर्शन र पश्चिमी सरकारहरूबाट तीव्र आलोचना भएको थियो । यसले देशमा राजनीतिक अस्थिरता बढाएको थियो ।
प्रतिक्रियास्वरूप जेलेस्कीले ती निगरानी निकायहरूको अधिकार सुदृढ गर्ने उद्देश्यले उक्त कटौतीलाई उल्टाउने विधेयक संसद्मा पेस गरेका थिए । यद्यपि, यसमा कर्मचारीहरूको सुरक्षा जाँचलगायत अन्य सर्तहरू संलग्न गरिएको थियो ।
किभ–पश्चिम सम्बन्ध र सहायता निरन्तरता
एसभीआरले जेलेस्कीको सट्टामा ज्यालुजन नियुक्ति मुख्य रूपमा पश्चिमी साझेदारहरू, विशेष गरी वासिंटनसँग सम्बन्ध ‘रिसेट’ गर्न र रूससँगको द्वन्द्वको बीचमा सैन्य तथा वित्तीय सहायता निरन्तरता सुनिश्चित गर्न आवश्यक देखाइएको दाबी गरेको छ ।