काठमाडौं । रूसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभ हाल समाचारमा छाएका छन् । उनको एक भनाइपछि अमेरिका र रूसबीच तनाव बढेको छ । मेदभेदेभ रूसको सुरक्षा परिषद्का उपाध्यक्ष पनि हुन् ।
उनी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका ‘शिष्य’ हुन् । मेदभेदेभ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आँखाको कसिंगर बनेका छन् । उनले पछिल्लो समय ट्रम्पलाई चुनौती दिँदै आएका छन् । उनको नयाँ चुनौतीपछि ट्रम्पले परमाणु पनडुब्बी तैनाथ गर्ने धम्की दिएका छन् । यसले दुवै देशबीच तनाव थप बढेको छ ।
मेदभेदेभले आफ्ना ‘गुरु’ पुटिनलाई आजीवन रूसको राष्ट्रपति बन्ने बाटो खोलिदिएका थिए । उनी पहिले पुटिनका प्रधानमन्त्री थिए । तर, सन् २००८ देखि २०१२ सम्म उनले पुटिनसँग पद ‘साटासाट’ गरेका थिए ।
मेदभेदेभ पुटिनको आदेशमा राष्ट्रपति बनेका थिए । यसको कारण के थियो भने, रूसको कानुनले पुटिनलाई लगातार तेस्रो कार्यकालका निम्ति उक्त पदमा रोकेको थियो । त्यसपछि मेदभेदेभ राष्ट्रपतिमा चुनिए ।
मेदभेदेभले सधैँ युक्रेनमाथि रूसी आक्रमणको खुला समर्थन गरेका छन् । हाल उनलाई पुटिनको त्यो सिपाही भन्न सकिन्छ, जो सामाजिक सञ्जालमा क्रेमलिनका पक्षमा ट्रम्पदेखि अरू व्यक्तिहरूसँग भिडिरहन्छ ।
लेनिनग्राद (हालको सेन्ट पिटर्सबर्ग)मा जन्मिएका मेदभेदेभ वकिल हुन् । उनी लामो समयदेखि पुटिनका सहयोगी रहँदै आएका छन् । उनले सन् १९८७ मा लेनिनग्राद स्टेट युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका थिए । सन् १९९० मा कानुनमै पीएचडी उपाधि हासिल गरेका थिए ।
सन् १९९० को दशकमा जब पुटिनले आफ्नो प्रारम्भिक राजनीतिक टोली तयार गरे, तब मेदभेदेभले सबैभन्दा पहिले स्थान पाएका थिए ।
२०१२ मा ‘साटासाट’
सन् २००८ मेमा मेदभेदेभ रूसको राष्ट्रपति बने । त्यसअघि उनले पुटिनको कनिष्ठ सहयोगीका रूपमा चिफ अफ स्टाफ, उपप्रधानमन्त्री र ग्याजप्रोमको प्रमुखजस्ता उच्च पदमा काम गरेका थिए ।
राष्ट्रपतिका रूपमा उनको कार्यकालमा धेरै पहल भए । अमेरिकासँग नयाँ हतियार कटौती सन्धि र ‘मिलिशिया’को नाम परिवर्तन गरेर ‘पोलिशिया’ बनाइएको त्यही बेला हो ।
सन् २०१२ मा मेदभेदेभ र पुटिनले पद ‘साटासाट’ गरे । र, मेदभेदेभ सन् २०२० सम्म प्रधानमन्त्री बने ।
राजनीतिक फाइदा खोज्ने प्रयास
मेदभेदेभलाई सधैँ उदार र प्रगतिशील नेताका रूपमा लिइन्थ्यो । तर, सन् २०२२ मा रूस–युक्रेन युद्ध सुरू भएदेखि उनले भड्काउ बयान दिन थालेपछि सबै चकित भए ।
पुटिन यदाकदा मात्र परमाणु धम्की दिन्छन् । तर, मेदभेदेभ प्रायः परमाणु धम्की दिइरहन्छन् । उनी सामाजिक सञ्जालमा पश्चिमी नेताहरूमाथि कहिलेकाहीँ अपमानजनक टिप्पणी गर्न पनि पछि हट्दैनन् ।
विज्ञका अनुसार, यस्ता बयानबाजीमार्फत उनी पुटिन र रूसका सैन्य कट्टरपन्थीसँग राजनीतिक फाइदा लिन खोजिरहेका छन् ।
मेदभेदेभलाई ट्रम्प किन घृणा गर्छन् ?
मेदभेदेभ र ट्रम्पबीचको तनाव रूस–युक्रेन युद्धसँग जोडिएको छ । ट्रम्पले दुवै देशबीच शान्ति चाहेको र पुटिनसँग असन्तुष्ट रहेको बताएका थिए । त्यसपछि ट्रम्पले रूससामु नयाँ प्रस्ताव राखे । त्यसअन्तर्गत उनले रूसलाई युक्रेनसँगको युद्ध समाप्त नगरे १०० प्रतिशत सेकेन्डरी ट्यारिफ (कर)को सामना गर्न तयार रहन धम्की दिए ।
यसलाई मेदभेदेभले ट्रम्पको नाटक भनेर टिप्पणी गरे । उनले सामाजिक सञ्जलमा एक्समा लेखे, “ट्रम्पले क्रेमलिनलाई नाटकीय अल्टिमेटम जारी गरेका छन् । विश्व यसको परिणामको आशंकाले थरथर कामिरहेको छ । आक्रामक युरोप निराश भएको छ र रूसलाई यसको कुनै वास्ता छैन ।”
ट्रम्पले त्यति बेला कुनै जवाफ दिएनन् । तर, उनको रिस बढ्दै गयो । उनले बारम्बार पुटिनलाई युद्ध समाप्त गर्न असफल भएको बताउन थाले ।
रूस, इजरायल वा इरान होइन
त्यसपछि ट्रम्पले आफ्नो ‘अल्टिमेटम’ दोहोर्याए । र, समयसीमा ५० दिनबाट घटाएर १०–१२ मा झारे । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ट्रम्पको प्रशंसा गरे । तर, मेदभेदेभ चुप बस्ने मान्छे थिएनन् ।
उनले एक्समा अर्को पोस्ट लेखे, “ट्रम्प रूससँग अल्टिमेटमको खेल खेलिरहेका छन्, ५० दिन वा १० दिन । उनले दुई कुरा सम्झनुपर्छ – त्यो के भने, रूस इजरायल वा इरान होइन । प्रत्येक नयाँ अल्टिमेटम खतरा र युद्धतर्फको कदम हो – रूस र युक्रेनबीच होइन, बरु उनकै देशसँग । स्लीपी जोको बाटोमा नलाग !”
मेदभेदेभको यो टिप्पणीले ट्रम्पलाई फेरि रिस उठायो । त्यसपछि उनले सामाजिक सञ्जाल पोस्टमार्फत मेदभेदेभलाई असफल राष्ट्रपति भनेर टिप्पणी गरे । उनले लेखे, “रूस आगोसँग खेलिरहेको छ र धेरै खतरनाक क्षेत्रमा प्रवेश गरिरहेको छ ।”
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “रूस र अमेरिकाबीच लगभग कुनै व्यापार हुँदैन । यसलाई यस्तै रहन दिनुहोस् र आफूलाई अझै पनि राष्ट्रपति ठान्ने रूसका असफल पूर्वराष्ट्रपति मेदभेदेभलाई आफ्ना कुरामा ध्यान दिन भनौँ । उनी धेरै खतरनाक क्षेत्रमा प्रवेश गरिरहेका छन् ।”