site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ’
फाइल तस्बिर ।

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् । कांग्रेस सूर्यविनायक नगर समितिले शनिबार (साउन १७) आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेको उनले उल्लेख गरे । अब संविधान संशोधन गर्ने क्रममा यो व्यवस्थालाई समावेश गरिनुपर्नेमा उनले जोड दिए ।

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन नसक्ने गरी गरेको निर्णय स्वागतयोग्य रहेको उनको भनाइ थियो । “पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक होइन । उहाँबारे एमालेले जे निर्णय गर्‍यो, त्यो सही निर्णय हो । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्छ,” सहमहामन्त्री परियारले भने ।

उनले कांग्रेसको १५औँ महाधिवेशन ०८३ मंसिरभित्र गर्न उपयुक्त हुने बताए । “कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल वि.सं. २०८२ मंसिरमा सकिँदै छ, तर महाधिवेशनको तयारी सुरु भएको छैन । अब मंसिरमा महाधिवेशन सम्भव नभएकाले एक वर्ष म्याद थपेर अर्को वर्षको मंसिरमा महाधिवेशन गर्नुपर्छ,” उनले भने ।

कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले केन्द्रीय नेता र कार्यसमितिलाई दोष दिनुभन्दा अरू तहका समितिले पनि आफ्नो दायित्वमा रहेका काम समयमै सम्पन्न गर्नुपर्ने बताए । उनले कांग्रेसका हरेक नेता–कार्यकर्ताले विधानानुसार आफूले पाएको जिम्मेवारी इमानदारिताका साथ पूरा गर्न सके पार्टी स्वतः बलियो बन्ने बताए । रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्