काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको जिकिर गरेका छन् । शनिबार (साउन १७) एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
तत्कालीन राजा त्रिभुवन शाहलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त भएको उनले उल्लेख गरे । त्यसअघि आधिकारिक रूपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको उनले बताए । तराई/मधेसमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भए पनि यी दुई एउटै नभएको उनको भनाइ थियो ।
नेपालमा पहिलो मानवअधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ भएको पनि उनले बताए । उनले गंगालालले वि.सं. १९९५ सालमा पहिलो मानवअधिकारसम्बन्धी भाषण गरेका उल्लेख गरे । १९९७ सालमा गंगालालले नै इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गरेका उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको भनाइ पढ्नोस्–
मैले भनिरहन पर्दैन, बडिबिल्डिङ, बडिबिल्डर्सहरूको विद्याको शिक्षाको, राजा त्रिभुवनलाई सिकाउने गुरु धर्मभक्त माथेमा पहिलो बडिबिल्डर्स हो नेपालको । नेपालको इतिहासमा अर्को बडिबिल्डर्स पाइँदैन । उहाँ नै पहिलो बडिबिल्डर्स हो । कुस्तीबाज त तराईमा प्रचलन थियो, तर दरबारमा पहिलो बडिबिल्डर्सको रूपमा उहाँ हुनुहुन्थ्यो । कुस्ती र बडिबिल्डर्स एउटै होइन । पहिलो मानवअधिकार संस्थाको संस्थापक गंगालाल हुनुहुन्थ्यो । पहिलो मानवअधिकारसम्बन्धी भाषण गर्ने गंगालाल हुनुहुन्थ्यो, १९९५ सालमा । १९९७ सालमा खुला राजनीतिक भाषण, कोणसभा भन्छौँ हामी – त्यो सभाको रूपमा मंसिर १३ गते इन्द्रचोकमा राजनीतिक भाषण गर्नुभयो । न्युज एजेन्सी नेपाल