काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार श्रम तथ्यांक ब्युरो (बीएलएस)का प्रमुखलाई बर्खास्त गर्न आदेश दिएका छन् । यो निर्णय सरकारको एक प्रतिवेदनले पछिल्लो तीन महिनामा रोजगारी वृद्धि उल्लेखनीय रूपमा सुस्त भएको देखाएको केही घण्टापछि आएको हो ।
सामाजिक संजाल ट्रम्थ सोसलमा लेख्दै ट्रम्पले बीएलएसकी आयुक्त एरिका म्याकइन्टार्फरको आलोचना गरेका छन् । उनले देशको रोजगार प्रतिवेदनहरू बाइडेनद्वारा नियुक्त व्यक्तिबाट तयार पारिएको दाबी गरेका छन् । ट्रम्पले उनलाई बर्खास्त गर्न आफ्नो प्रशासनलाई आदेश दिएको एनबीसी न्युजले जनाएको छ ।
“हामीलाई सटिक रोजगार संख्या चाहिन्छ, “ट्रम्पले लेखे, “उनको स्थानमा धेरै सक्षम र योग्य व्यक्ति ल्याइनेछ । यस्ता महत्वपूर्ण संख्याहरू निष्पक्ष र सटिक हुनुपर्छ, तिनलाई राजनीतिक उद्देश्यका लागि हेरफेर गर्न सकिँदैन ।”
अर्को पोस्टमा ट्रम्पले लेखेका छन्, “मेरो विचारमा, आजको रोजगार संख्या रिपब्लिकन र मलाई नराम्रो देखाउनका लागि तलमाथि गरिएको छ ।” उनले आफ्नो दाबीको कुनै प्रमाण प्रस्तुत गरेनन् ।
बीएलएसले शुक्रबार बिहान प्रतिवेदन सार्वजनिक गर्दै जुलाईमा अमेरिकी अर्थतन्त्रले ७३ हजार रोजगारी थपेको जनाएको थियो । जुन अनुमानभन्दा निकै कम हो । मे र जुनको संख्यालाई संशोधन गरिएको र ती पहिले घोषणा गरिएभन्दा दुई लाखभन्दा कम भएको पनि बताएको थियो ।
एक प्रशासन अधिकारीले एनबीसी न्यूजलाई म्याकइन्टार्फरलाई बर्खास्त गरिएको पुष्टि गरे । यो बर्खास्तीले वाशिंगटनमा तरंग ल्याएको छ ।
“राष्ट्रपति ट्रम्पले तथ्यहरू मन नपरेकै कारण विज्ञ र तटस्थ अधिकारीहरूलाई बर्खास्त गरेर हाम्रो सरकारको विश्वसनीयता फेरि नष्ट गर्दैछन्,” गैरपक्षपाति साझेदारी फर पब्लिक सर्भिसका सीईओ म्याक्स स्टियरले भने, “यस्तो बाटोमा हिँड्ने सरकारहरू छिट्टै कुरूप क्षेत्रमा पुग्छन् ।” एनबीसी न्युज