काठमाडौं । रूसको तटमा आएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण प्रशान्त महासागर हुँदै क्यालिफोर्निया, हवाई र जापानमा सुनामीका छालहरू उठेका छन् ।
यो भूकम्प रूसको सुदूर कमचटका प्रायद्वीपमा आएको थियो । यो हालसम्मकै सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये एक भएको जनाइएको छ । रुसको क्रेमलिनका प्रवक्ताले कुनै मानवीय क्षतिको खबर नआएको बताएका छन् ।
सुनामीका छालहरू अमेरिकी तटसम्म पुगेका छन्, जसमा क्यालिफोर्नियाको क्रिसेन्ट सिटीमा ३.६ फिट उचाइको छाल रेकर्ड गरिएको बताइएको छ ।
रूसको कमचटका प्रायद्वीप, हवाई, फिलिपिन्स र जापानले सुनामीको चेतावनीलाई कम गरेका छन् । जापान र हवाईका लागि नयाँ एडभाइजरी जारी गरिएको छ ।
यूरेकास्थित राष्ट्रिय मौसम सेवाका अनुसार, क्यालिफोर्नियाको तटका केही भागहरूमा सुनामीका छालहरू उठिरहेका छन् ।
अमेरिकाको हवाईमा एक पर्यटकले बीबीसीलाई बताएअनुसार यो अनुभव अत्यन्तै त्रासदीपूर्ण थियो ।
टोकियोस्थित बीबीसी संवाददाताले बताएअनुसार बिहान जापानको प्रशान्त तटमा हजारौँ मानिसहरू साइरनको आवाजले ब्युँझिएका थिए ।
प्रशान्त महासागरमा १३ फिट उचाइका छालहरूको चेतावनी जारी गरिएको छ । फ्रान्सेली पोलिनेशियाका अधिकारीहरूले नुकु हिवा टापुमा कुनै पनि बेला करिब १३ फिट उचाइसम्म छाल उठ्न सक्ने चेतावनी जारी गरेका छन् ।
स्थानीय अधिकारीहरूले आगामी घण्टाहरूमा चार मिटर अर्थात् करिब १३ फिट उचाइका छालहरू उठ्न सक्ने चेतावनी दिएका छन् ।
यसअघि यो चेतावनी १.१ देखि २.२ मिटरसम्मको थियो । अधिकारीहरूका अनुसार, यी छालहरू उआ हुका, नुकु हिवा र हिवा ओआ टापुहरूसँग ठोक्किन सक्ने अनुमान छ ।
यस क्षेत्रमा बस्ने मानिसहरूलाई उच्च स्थानतर्फ जान सल्लाह दिइएको छ । नुकु हिवा प्रशान्त महासागरमा अवस्थित मार्केसस टापु समूहको सबैभन्दा ठूलो हो ।