site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनी सेनाको प्रशिक्षण केन्द्रमा रूसको आक्रमण, तीन सैनिकको मृत्यु

काठमाडौं । रूस र युक्रेनबीचको द्वन्द्व तीव्र बन्दै गएको छ । रूसी सेनाले यक्रेनका सरकारी भवनहरूलाई निसाना बनाइरहेको छ । 

हालैको आक्रमणमा रूसले युक्रेनी सेनाको प्रशिक्षण केन्द्रलाई लक्षित गरेको छ । यो आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ भने १८ सैनिक घाइते भएका छन् ।

रूसी रक्षा मन्त्रालयले यो आक्रमणमा करिब २०० युक्रेनी सैनिक घाइते भएको बताएको छ । मन्त्रालयका अनुसार, चेर्निहीव क्षेत्रको होन्चारिवस्के नजिक रहेको युक्रेनको १६९औँ प्रशिक्षण केन्द्रमा दुईवटा इस्कान्दर मिसाइल प्रहार गरिएको थियो, जसले युक्रेनलाई ठूलो क्षति पुर्‍याएको छ ।

रूसले युक्रेनी नागरिक क्षेत्रमा पनि हवाई आक्रमण गरेको छ । युक्रेनको वायु सेनाले बुधबार रातभर ७८ वटा आक्रमणकारी ड्रोन प्रहार गरिएको बताएको छ । यो आक्रमणमा कम्तीमा पाँचजना घाइते भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने प्रयासमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासमा प्रगति गर्न ८ अगस्टसम्मको समयसीमा दिएको बताएका छन् । यो समयसीमाभित्र युद्ध नरोकिएमा अमेरिकाले कडा प्रतिबन्ध र कर लगाउने चेतावनी दिएको छ ।

पछिल्ला पाँच महिनामा युक्रेनी सैन्य लक्ष्यहरूमा यो चौथो घातक आक्रमण हो । आधिकारिक रिपोर्ट अनुसार, यसअघिका तीन आक्रमणमा कम्तीमा ४६ सैनिकको मृत्यु भएको थियो भने १६० भन्दा बढी घाइते भएका थिए । 

युक्रेनस्थित संयुक्त राष्ट्रसंघ मिसनका अनुसार, सन् २०२५ को पहिलो ६ महिनामा रूसी आक्रमणमा परेर मृत्यु हुने र घाइते हुने नागरिकको संख्या ६ हजार ७५४ पुगेको छ, जुन सन् २०२४ को सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढी हो ।

संयुक्त राष्ट्रसंघका अनुसार, २४ फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि हालसम्म ७१६ बालबालिकासहित कम्तीमा १३ हजार ५८० युक्रेनी नागरिकको मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्