site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भूमि विधेयकमा कृषि समिति सदस्यलाई कांग्रेसको प्रशिक्षण
फाइल तस्बिर ।

काठमाडौं । भूमि विधेयकमा कृषि समितिका सदस्यहरूलाई कांग्रेसले प्रशिक्षण दिने भएको छ । महामन्त्री विश्वप्रकाश शर्मा र संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई डाकेका छन् ।

कृषि समिति नेपाली कांग्रेसकै सांसद कुशुमदेवी थापाको नेतृत्वमा छ । थापासहित कांग्रेसका ७ सांसद रहेको समितिका सभापति र सदस्यहरूलाई संसदीय दलमा बोलाइएको हो ।

दिउँसो १ बजेदेखि चल्ने छलफलमा भूमि विधेयकका प्रावधानहरू सांसदहरूलाई बुझाउँदै त्यसमा कांग्रेसको अडानका विषयमा महामन्त्री शर्माले ‘गाइडलाइन’ दिन लागेको एक सांसदले जानकारी दिए । 

“समितिमा सहभागिता पनि प्रभावकारी नहुने समस्या छ । कतिपय विरामी भए भन्ने कतिपय काम देखाएर समितिको बैठकमा सक्रिय सहभागिता नभएको पाइयो,” ती सांसदले बाह्रखरीसँग भने, “विधेयक ल्याउनुको उद्देश्य, त्यहाँ राखिएका प्रावधानजस्ताको तस्तै पारित गरे त्यसले ल्याउने परिणाम र कांग्रेसले लिने अडानका विषयमा सांसदहरूलाई सचेत बनाउने छलफलको उद्धेश्य छ ।”

विधेयकमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र शर्माले संयुक्तरूपमा संशोधन हाल्दै विधेयकका प्रावधान सच्याउन माग गरेका छन् । 

हदबन्दीमाथिको जग्गाको वैकल्पिक प्रयोग रोक्ने, वन तथा राष्ट्रिय निकुञ्जको जग्गा भूमिहिन वा अरु कुनै नाममा वितरण गर्न नपाइने तथा जंगल नभएको क्षेत्र नेपाल सरकारको नाममा अध्यावधिक गरी उपयोग, वितरण गर्न सक्ने प्रावधानविरद्ध संशोधन परेको छ । उनीहरूले त्यसलाई नै कांग्रेसको अडान बनाउँदै विधेयक सच्याउन पहल गरिरहेका छन् । महामन्त्री थापा चीन भ्रमणमा रहेका वेला शर्माले सांसदहरू लाई एक मत बनाउने गरी अभ्यास सुरु गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्