site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेइजिङमा भारी वर्षा, बाढीमा परी ३० जनाको मृत्यु
तस्बिर : एएफपी ।

काठमाडौं । चीनको राजधानी बेइजिङमा भारी वर्षासँगै बाढीमा परी ३० जनाको मृत्यु भएको छ । बेइजिङ प्रशासनले बाढीको आपत्कालीन चेतावनी जारी गरेको छ ।

गएको शनिबारदेखि सुरु वर्षाका कारण हालसम्म ८० हजारभन्दा बढी मानिसलाई अन्यत्र स्थानान्तरण गर्नुपरेको छ । मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान छ ।

चीनका राष्ट्रपति सी चिनफिङले बाढीमा हराएका सबै मानिसको खोजी, उद्धार र राहतका निम्ति निर्देशन दिएका छन् । सोमबार उनले भने, “बाढीमा हराएका वा फसेका व्यक्तिहरूलाई खोज्ने र उद्धार गर्ने, साथै प्रभावित क्षेत्रका मानिसलाई अन्यत्र स्थानान्तरण गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।”

जुलाईमा बेइजिङमा यसअघि पनि धेरैपटक बाढी आएको छ । सबैभन्दा भयानक बाढी सन् २०१२ को जुलाईमा आएको थियो । त्यति बेला एकैदिन बेइजिङमा १९० मिलिमिटर वर्षा भएको थियो । उक्त बाढीमा परेर ७९ जनाको मृत्यु भएको थियो ।

बेइजिङ र उत्तरी चीन क्षेत्रमा भारी वर्षा र बाढीमा फसेका मानिसको उद्धार गरिँदै छ । चीनको सरकारी मिडियाका अनुसार, राजधानीमा मात्र ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्