काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको विषयमा छलफल गर्न बैठक बसेको हो ।
यसअघि, सोमबार साँझ अविश्वास प्रस्तावमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन बनेको थियो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
गत शुक्रबार (साउन ९ गते) कांग्रेसका चार मन्त्रीले राजीनामा दिएर इन्द्र बानियाँको पक्षमा खुलेका थिए । ०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा बानियाँ लामासँग पराजित भएका थिए । अहिले उनी बहुमत सांसदलाई साथमा लिएर संसदीय दलको नेता बन्ने कसरतमा छन् ।
यसबीच सांसदहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास चलेको थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरू मीना पराजुली र माया श्रेष्ठले विज्ञप्ति जारी गरेरै प्रस्ताव फिर्ता लिएको र लामाकै पक्षमा रहेको बताएका थिए । तर, पराजुली फेरि बानियाँकै पक्षमा फर्किएकी छन् ।
आजै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएर बानियाँको पक्ष लिएका छन् ।