काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्बोडिया–थाइल्यान्ड युद्धविराममा आफ्नो भूमिकाको प्रशंसा गरेका छन् । उनले आफ्नो टोलीलाई दुवै दक्षिणपूर्वी एसियाली देशहरूसँग व्यापार वार्ता पुनः सुरु गर्न निर्देशन दिएको बताएका छन् ।
ट्रम्पले कम्बोडियाली प्रधानमन्त्री हुन मानेत र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाईसँग कुराकानी गर्दै दुवैलाई जबसम्म द्वन्द्व जारी रहन्छ, कुनै व्यापार सम्झौता नगरिने चेतावनी दिएका थिए ।
ट्रम्पले स्कटल्यान्डबाट ट्रुथ सोशलमा लेख्दै थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कंबोडियाका प्रधानमन्त्रीसँग कुरा गरेको र आफ्नो प्रयासपछि दुवै देश अब युद्धविराम र शान्तिका लागि तयार भएको घोषणा गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले सबैलाई बधाई भन्दै यो युद्ध समाप्त गरेर हजारौँको ज्यान बचाएको बताएका छन् ।
ट्रम्पले अगाडि पोष्टमा लेखेका छन्, “मैले मात्र ६ महिनामा धेरै युद्धहरू समाप्त गरेको छु । मलाई शान्तिको राष्ट्रपति हुनुमा गर्व छ ।”
ट्रम्पले सोमबार (स्थानीय समयानुसार) बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग द्विपक्षीय बैठक गर्दै यो कूटनीतिक सफलताको श्रेय लिएका हुन् । उनले भने, “हामीले त्यो युद्ध समाधान गर्यौं, तपाईंले सायद इन्टरनेटमा यो कुरा देख्नुभएको होला । हामीले व्यापारमार्फत यो समाधान निकाल्यौँ । मैले उनीहरूलाई भने, म त्यस्ता कुनै पनि व्यक्तिसँग व्यापार गर्न चाहन्न जो एकअर्कालाई मारिरहेका छन् । यसरी हामीले समाधान निकाल्यौँ ।”
कम्बोडिया र थाइल्यान्डबीच युद्धविरामको घोषणा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरेका थिए, जो हाल दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का अध्यक्ष छन् ।
अनवरले राजधानी क्वालालम्पुरनजिकै आफ्नो आधिकारिक निवासमा कम्बोडियाली प्रधानमन्त्री हुन मानेत र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाईबीच वार्ताको मध्यस्थता गरे ।
थाइल्यान्ड र कंबोडिया दुवैले एकअर्कामाथि लडाइँ सुरु गरेको आरोप लगाइरहेका छन् । यो द्वन्द्वमा हालसम्म कम्तीमा ३६ जनाको मृत्यु भइसकेको छ । २०० भन्दा बढी घाइते भएका छन् ।
यी दुई देशबीचको सीमा विवाद दशकौं पुरानो छ । युद्धविरामको घोषणापछि पनि लडाइँ जारी रहेको खबरहरू आएका छन् । कम्बोडियाली पक्षको एक निकासी आश्रयका प्रमुख मौन नाराले युद्धविरामको घोषणा भएको केही घण्टापछि भने, “अझै गोलाबारीको आवाज सुनिन्छ । युद्ध अझै सकिएको छैन । हेरौँ मध्यरातसम्म के हुन्छ ।” द इकोनोमिक्स टाइम्स