काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, गौमाया गुरुङ र सरिता गिरी छन् । किरण श्रेष्ठ र अन्य दुई कलाकार फिचर्ड छन् । यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन् । कारण के हो त्यो भने खुलाइएको छैन ।
सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन् । अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन् । किरणले बयान लिएरहेका व्यक्तिको पछिल्लो भाग मात्रै देखिएको छ । कामेश्वरजस्तो देखिन्छन् । अघिल्लो पोस्टरमा कामेश्वर पैसा रहेको झोलाको छेउमा कारागारको नजिक थिए । त्यसैले बयान लिइरहेको व्यक्ति उनै हुने सम्भावना उच्च छ ।
अर्को पोस्टर जसमा चलचित्रका मुख्य दुई कलाकार कामेश्वर र लक्ष्मी छन् । कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन् । पोस्टरले तनाव र खुसीमा रहेका पात्रलाई बाहिर ल्याएको छ ।
यी दुई पोस्टरले कलाकारको चरित्रको लुक्स र एकअर्कासँगको सम्बन्धलाई थोरै खुलाउँदै ‘सस्पेन्स क्रिएट’ गर्न खोजेको देखिन्छ ।
केही दिन अगाडि यो चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको थियो । मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको थियो ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ ।
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । निर्माता विनोद पौडेल हुन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेको छ ।