site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीको विवाद मिलाउन कांग्रेसले केन्द्रबाट पठायो राजेन्द्र केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाग्मती प्रदेश संसदीय दलमा देखिएको विवादमा सहजीकरण गर्न केन्द्रीय सदस्य राजेन्द्र केसीलाई प्रतिनिधि तोकेका छन् । सभापति देउवाको हस्ताक्षर भएको पत्र बोकेर केसी हेटौँडातर्फ लागेका छन् ।

“वाग्मती प्रदेशसभामा हाम्रो संसदीय दलभित्र आन्तरिक विवाद बढेको अवस्था छ । त्यसमा सहजीकरण गर्न मलाई जिम्मेवारी तोकेपछि म हेटौँडा जाँदै छु,” संघीय सांसदसमेत रहेका केसीले बाह्रखरीसँग भने, “म दुवै पक्षलाई राखेर मिलाउने प्रयत्न गर्नेछु । समझदारीमा आउनुभयो भने मिलाउने, नभए प्रक्रियामा जान दिने हो ।”

उनले दुवै पक्षलाई एक ठाउँमा बस्न सहजीकरण गर्ने र पार्टीभित्रको विवाद समझदारीमै मिलाउन आग्रह गर्ने बताए । त्यसमा सहमति नभए प्रक्रियाअनुसार अघि बढ्ने बताए ।

वाग्मती प्रदेशमा ०७९ मा संसदीय दलको निर्वाचनदेखि नै विवाद सुरु भएको हो । विवाद उत्कर्षमा पुगेको बेला गत वर्ष प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउने क्रममा पार्टीभित्रै समर्थन नहुँदा सभापति देउवाले इन्द्र बानियाँ र बहादुरसिंह लामालाई सँगै राखेका थिए ।

त्यसबेला देउवाले ‘एक–एक वर्ष मुख्यमन्त्री चलाउने’ सहमति गराएका थिए । बानियाँ पक्षले बजेट पास गर्ने बेला रोकेको थियो । त्यसमा पनि सभापति देउवाले ‘बजेट पारित भएपछि मात्र अन्य सहमति कार्यान्वयन गर्ने’ सुझाव दिएका थिए ।

“बजेट पारित भएपछि बहादुरसिंहज्यूले सभापति देउवालाई नै भेट्न जानुभएनछ,” वाग्मतीका एक सांसदले बाह्रखरीसँग भने, “सहमति पालना गर्न उहाँ तयार नभएकै कारण संसदीय दलको नेताबाटै हटाउनुपरेको हो ।”

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्