काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार रास्वपा सांसद विनीता कठायतले ‘कुलिङ अफ पिरियड’ हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताइन् ।
दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन् । उनले ‘कुलिङ अफ पिरियड’लाई जनताले नजिकबाट हेरिरहेको भन्दै सचेत हुन आग्रह गरिन् ।
सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् ।
यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनको माग छ । आफ्ना माग पूरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ ।