काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले संसद्मा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको त्यस्तै पारित हुन नदिने स्पष्ट पारे । सामाजिक सञ्जालसम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्त्वपूर्ण रहेको बताए ।
उनले विधेयकमा रहेको विषयवस्तुहरू आधारभूत रूपमा नै गलत रहेको उल्लेख गरे । विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताए । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महसुस भएको उनको भनाइ छ ।
"प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसद्मा आएको विधेयक हो । संसद्मा आएको विधेयक आपत्तिजनक छ । त्यो विधेयक जस्ताको त्यस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ" उनले भने ।
महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताए । न्युज एजेन्सी नेपाल