काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अहिले सिंगौरी खेल्न दिइरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताएका हुन् ।
उनले भिन्न मतलाई दमन गर्ने कुरा आफ्नो कमजोरी नभएको जिकिर गरे । आफ्नो बारेमा पार्टीभित्र यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गरे । उनले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको उल्लेख गरे । उनीहरूलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको उनको भनाइ छ ।
"भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । भिन्न मत अलि बढी उदायो भने मेरो कमजोरी हो । पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो । मैले कसैलाई कारबाही गरिन," उनले भने, "अहिले पनि केही साथीहरूले अलिअलि सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ । उहाँलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु । मन लागे खेल्नुस् भनेर दिएको छु । डेढ महिना परामर्श भन्दै देशैभरी लिएरै हिँडे मैले ।"
प्रचण्डले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरुरी रहेको बताए ।