site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेटमणिलाई प्रधानमन्त्रीको प्रतिप्रश्न– बिहान भनेको रेलवे रातिसम्म तयार हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले 'रेल स्टेसन बिहान भनेर बेलुकासम्म तयार हुन्छ ?' भन्ने प्रश्न गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा पोखरा–काठमाडौं रेलको कुरा गर्दा कुस्मामा रेल स्टेसन बनाउने कुरा भएको र त्यो बजेट वक्तव्यमा नसमेटिएको बताएका थिए । चौधरीले आशावादी जनता निराश भएको भन्दै प्रस्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

ओलीले जवाफ दिने क्रममा चौधरीले व्यंग्य गरेको भन्दै प्रतिप्रश्न गरे । “माननीयज्यूले कुस्मामा रेल स्टेसन भनेर व्यंग्य गर्न खोजेको देखिन्छ । हिजो बेलुका बनाउने भनेको रेलवे बिहानसम्म तयार भएन ? भन्ने प्रश्न । यो रेल भनेको बिहान भनेर रातिसम्म तयार हुने हो र ?,” उनले सोधे ।

उनले थपे, “यो स्वस्थानी व्रतकथाको शिवजीले पार्वतीलाई यसो (हातले इसारा गर्दै) देखाएको महल हो र पल्लापटी ? विकास निर्माणको कामको आफ्नो प्रक्रिया हुन्छ ।”

ओलीले नेपालमा रेल ल्याउन सम्भव रहेकाले जनकपुरमा चलाइएको बताए । विकास भविष्यको सन्ततिलाई हेरेर गर्नुपर्ने भनाइ ओलीको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १५:२१
प्रतिक्रिया दिनुहोस्