काठमाडौं । अस्ट्रेलियाको नयाँ संसद् सुरु हुनासाथ गाजा युद्धलाई लिएर विरोध तीव्र भएको छ । मंगलबार संसद्को सत्र सुरु भएपछि सयौँ प्रदर्शनकारीहरू संसद् भवनबाहिर जम्मा भएर गाजा युद्धलाई लिएर इजरायलमाथि कडा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
संसद्भित्र र बाहिर यो मुद्दामा प्रतिक्रियाहरू आइरहेका छन् । अस्ट्रेलियाले पहिल्यै केही इजरायली नेताहरूमाथि व्यक्तिगत प्रतिबन्ध लगाइसकेको छ । अब थप प्रतिबन्धको माग बढ्दै गएको एपीले जनाएको छ ।
अस्ट्रेलियाको संसद्मा मंगलबार नयाँ सत्रको सुरुआत भयो, जसमा प्रधानमन्त्री एन्थोनी अल्बनिजको नेतृत्वमा रहेको लेबर पार्टीले भारी बहुमतसहित पुनरागमन गरेको छ ।
गाजा द्वन्द्वको आवाज संसद् भवनमा पनि सुनियो । संसद्बाहिर प्रदर्शन गरिरहेका मानिसहरूले इजरायलमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे । र, ‘गाजालाई न्याय देऊ’ जस्ता नाराहरू लगाए ।
सुरक्षा अधिकारीहरूले करिब १५ प्रदर्शनकारीहरूलाई संसद्को माथिल्लो सदनको ग्यालरीमा प्रवेश गर्नबाट रोकेका थिए । यी प्रदर्शनकारीहरू त्यतिबेला भित्र पस्ने प्रयास गरिरहेका थिए जब महान्यायाधिवक्ता स्याम मोस्टिनले संसद्लाई सम्बोधन गरिरहेका थिए ।
यसैबीच, ग्रीन पार्टीकी उपनेता सिनेटर मेहरिन फारुकीले शान्तिपूर्ण विरोध जनाउँदै एउटा पोस्टर देखाइन्, जसमा लेखिएको थियो, ‘गाजा भोकमरीमा छ, शब्दले मात्र पुग्दैन, इजरायलमाथि प्रतिबन्ध लगाऊ ।’
अस्ट्रेलियाले इजरायलका दुई मन्त्रीहरू इतामार बेन–ग्भिर र बेजालेल स्मोटरिचमाथि वित्तीय र यात्रा प्रतिबन्ध लगाइसकेको छ ।
यद्यपि, सरकारले अहिलेसम्म इजरायलविरुद्ध देशस्तरीय प्रतिबन्धको घोषणा गरेको छैन । प्रदर्शनकारीहरू र ग्रीन पार्टीले अस्ट्रेलियाले अब थप कडा कदमहरू चाल्नुपर्ने माग गरेको छ ।
अस्ट्रेलियाले हालै विश्वका २७ अन्य देशहरूसँग मिलेर एक संयुक्त वक्तव्य जारी गरेको थियो । यसमा गाजा युद्ध अन्त्य हुनुपर्ने माग छ । गृह मामिलामन्त्री टोनी बर्कले यसलाई अहिलेसम्मकै सबैभन्दा कडा वक्तव्य भनेका छन् ।
उनले भने, “हामीले जे देखिरहेका छौँ, त्यो सहन नसकिने छ । बन्धकहरूको रिहाइ आवश्यक छ, तर युद्धको अन्त्य पनि उत्तिकै जरूरी छ ।” एपी