site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले भन्यो– राष्ट्रपति भएको व्यक्तिले राजनीति गर्ने होइन, एमालेले उचित निर्णय गरोस्

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्कन नहुने धारणा सार्वजनिक गरेको छ ।

गएको असार १४ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिन् । त्योसँगै राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुने/नहुने भन्ने बहस जारी छ ।

कांग्रेसका संस्थापनपक्षीय नेताले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने धारणा राख्दै आएका छन् । मंगलबार (साउन ६) पार्टी सभापति शेरबहादुर देउवानिकट पाँच नेताले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने धारणा दोहोर्‍याए ।

“राष्ट्रपति देशको एकताको प्रतीक हो । ऊ पुनः पक्ष/विपक्षको राजनीतिमा फर्कन हुँदैन, पूर्वराष्ट्रपति भएर बस्नुपर्छ भन्ने भएको छ,” कांग्रेस नेता गोपालमान श्रेष्ठले बाह्रखरीसँग भने, “यसलाई एमालेले गम्भीर छलफल गरी स्पष्ट निर्णय गर्नुपर्छ ।”

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यो विषयमा स्पष्ट रहेका भन्दै देउवाले उक्त पार्टीले उचित निर्णय गर्ने विश्वास व्यक्त गरेका उनले बताए । “पूर्वराष्ट्रपतिले पार्टी राजनीति गर्नु हुन्छ/हुँदैन भन्नेमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष प्रस्ट हुनुहुन्छ भन्ने आएको छ,” श्रेष्ठले भने, “हामीले पुनः ध्यानाकर्षण गराउँदै राष्ट्रप्रमुख भएको व्यक्तिले सम्मानसाथ पूर्वराष्ट्रपति भएर बस्नुपर्छ भनेका हौँ ।”

पूर्वराष्ट्रपति भण्डारीले गत वर्ष नै एमालेको सदस्यता नवीकरण गराउँदै सक्रिय राजनीतिमा फर्कने आधार तयार पारेकी थिइन् । असार १४ मा घोषणापछि उनले राजनीतिमा सक्रियता बढाउँदै लगेकी छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्