काठमाडौं । बलिउड सिनेमा ‘सैयारा’ले यतिबेला बक्स अफिसमा आकर्षक कलेक्सन गरिरहेको छ । बलिउडमा मात्रै होइन, नेपालमा पनि यस चलचित्रले राम्रो कलेक्सन गरिरहेको छ ।
नेपालमा उच्च शोसहित ‘सैयारा’ चलिरहेको छ । ‘सैयारा’मात्रै होइन, अहिले नेपालमा विदेशी भाषाका १० वटा चलचित्र प्रदर्शन भइरहेका छन् । तर, हलमा नेपाली चलचित्र एउटामात्रै छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा वैशाख २६ गते रिलिज भएको ‘ऊनको स्वीटर’मात्रै हलमा छ । यो पनि दैनिक एक वा दुई शोमात्रै छ ।
यसपछि नेपाली चलचित्र ‘महाभोज’ चल्यो । ‘महाभोज’ जेठ ३० मा रिलिज भएको थियो । त्यसपछि असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ रिलिज भयो ।
हप्ताकै दुई/तीनवटा नेपाली चलचित्र रिलिज हुने हल असार र साउनमा सुनसान बने । नेपाली चलचित्र हेर्न चाहने दर्शकले पनि हेर्न पाएनन् । हिन्दी वा अंग्रेजी हेर्नुको विकल्प थिएन ।
अझै तत्काल नेपाली चलचित्र रिलिज हुने छैनन् । नेपाली चलचित्र रिलिजको पाइपलाइन साउनको दोस्रो सातादेखि मात्रै छ ।
साउन १६ गतेदेखि नेपाली चलचित्र रिलिज हुन सुरु हुनेछ । साउन १६ मा ‘रियाल रिंगेट’ प्रदर्शनमा आउँदै छ । त्यसको एक सातापछि साउन २३ गते एकैदिन दुईवटा चलचित्र ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनमा आउँदै छन् ।
भदौको पहिलो साताबाट सिनेमाको बाक्लो लाइनअप सुरु हुनेछ । भदौ ६ गते ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’ रिलिज हुँदै छन् । भदौ १२ गते ‘कोशेढुंगा’ रिलिज हुँदै छ । त्यसपछि दसैँको छेको पारेर थुप्रै नेपाली चलचित्र रिलिज हुनेछन् । ‘माइतीघर’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’, ‘जारी–२’ फुलपातीका दिन एकैदिन रिलिज हुनेछन् ।
असार र साउन तथा पुस र माघमा प्रायः नेपाली चलचित्र धेरै रिलिज नहुने गरेको चलचित्र निर्माता रोहित अधिकारी बताउँछन् । मनसुन सिजन, त्यसमा पनि असार र साउनमा धेरै रिलिज नहुने उनको भनाइ छ ।
“चलचित्र रिलिज गर्ने नै चाडपर्वमा हो भन्नेजस्तो भइसकेको छ । जेठपछिका चलचित्र दसैँ वा त्यसको छेउमा रिलिज गर्न पर्खिने गरेको देखिन्छ,” रोहित भन्छन्, “मंसिरपछिका चलचित्र चैत वा नयाँ वर्षको बिदामा रिलिज गर्नुपर्छ भन्ने सोच देखिन्छ ।”
चाडपर्वमा मात्रै दर्शक रहने रोहित बताउँछन् । दर्शक पनि चाडपर्वमा मात्रै चलचित्र हेर्न जाने गरेको देखिएको उनको भनाइ छ ।
“दर्शक चाडपर्वमै चलचित्र हेर्न हल जान्छन् । चलचित्र हेर्न बिदा नै चाहिन्छ । पैसा पनि चाडपर्वमै हुन्छ,” रोहित भन्छन्, “समय हुने भएकाले परिवारसँग बसेर चाडपर्वमा चलचित्र हेर्नुपर्छ भन्ने सोच छ ।”
चाडपर्वमा चार/पाँचवटा चलचित्र पनि हेर्ने दर्शक अरू समय भने नेपाली चलचित्र हेर्न खासै हलमा नजाने गरेको उनी बताउँछन् । यद्यपि, दर्शक हलसम्म तान्ने चलचित्र राम्रो हुनुपर्ने उनको भनाइ छ ।
“दसैँ/तिहार र बिदाको समय जाम भएका चलचित्र खोल्ने समयजस्तो भएको छ,” रोहित भन्छन्, “असार/साउन र पुस/माघमा प्रदर्शन नभएका चलचित्र लगाउने समय नै चाडपर्व भएका छन् ।”
तर, नेपालीबाहेकका अन्य भाषाका विदेशी चलचित्र भने चाडपर्व र बिदा नभए पनि नेपालमै चलिरहेको उनी बताउँछन् । “राम्रा पनि हुनुपर्छ होला, राम्रा नभए नचलेका होलान्,” उनी भन्छन्, “‘ऊनको स्वीटर’ यता कुनै पनि नेपाली चलचित्र चलेको छैन ।”
केही वर्ष अघिसम्म नेपाली चलचित्र असार, साउन र माघमा नै लगाउन तछाडमछाड हुन्थ्यो । तर, अहिले निर्माता यिनै मितिमा चलचित्र लगाउन हच्किन्छन् ।
नेपाली चलचित्र डिजिटलमा रूपान्तरण भइसकेपछि पनि अहिले सबैले छोडिरहेका मितिमा चलचित्र लगाउन हानाथाप हुन्थ्यो । “वि.सं. २०७६ सम्म पनि साउने संक्रान्ति र माघे संक्रान्तिमा चलचित्र लगाउन निर्माताबीच मारामार हुन्थ्यो,” चलचित्र वितरक करण श्रेष्ठ भन्छन्, “माघे संक्रान्ति र साउने संक्रान्तिमा अहिले दसैँमा चलचित्र लगाउनजस्तो हानाथाप हुन्थ्यो ।”
त्यो समय अहिले दसैँमा एक दिनमा राम्रो व्यापार गर्ने चलचित्रले कलेक्सन गर्नेजति नै माघे संक्रान्ति र साउने संक्रान्तिमा उठाउने गरेको वितरक श्रेष्ठ सम्झन्छन् ।
“चलचित्रका लागि माघे संक्रान्ति र साउने संक्रान्ति ठूला फेस्टिभल थिए । अहिले पनि यी चाडहरू मनाइन्छन् । तर, सिनेमाका लागि भने यी चाडको अहिले महत्व छैन,” करण भन्छन्, “यी चाडको महत्त्व मनाउने क्रम घटेको छैन । तर, सिनेमाका लागि भने शून्यप्रायः भइसकेका छन् । यी डेटमा सिनेमा रिलिज नै हुन छाडेका छन् ।”
मनसुन सिजनको प्रभाव रहेको उनी बताउँछन् । बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का घटना हुने सम्भावना भएकाले पनि निर्माता हच्किने गरेका छन् ।
“हामी वितरकहरू असार र साउनमा पनि चलचित्र रिलिज गर्न तयार छौँ । तर, निर्माताले मान्नुपर्यो,” करण भन्छन्, “नैतिकताका कारण पनि यो समयमा कमैमात्र चलचित्र रिलिज भइरहेका छन् ।”
बाढी, पहिरोका कारण दु:खद घटना घटिरहेको समयमा इन्टरटेनमेन्टको माध्यम भएकाले नैतिकताका कारण पनि वितरक र निर्माता असार र साउनलाई सिनेमा प्रदर्शनका लागि नरोज्ने गरेको उनको भनाइ छ ।
“हामी यता मनोरञ्जनात्मक चलचित्र हलमा लगाएर सिनेमा हेर्न आउनुस् भनेर पब्लिसिटी गरिरहेका हुन्छौँ,” उनी भन्छन्, “तर, हाम्रै सिनेमा हेर्ने दर्शकको घरमा विपद्का घटना घटिरहेका हुन्छन् । मान्छेको निधन भएको हुन्छ । कति घरबारविहीन भइरहेका हुन्छन् । त्यस्तो अवस्थामा हामी कसरी दर्शकलाई सिनेमा हेर्न अपिल गर्न सक्छौँ ?”
विपद्मा परेकालाई सहयोग गर्न नसके पनि चलचित्रकर्मीहरूले केहीलाई सहयोग गर्दै आएको करण बताउँछन् ।
गत वर्ष असोज ११ गते चलचित्र ‘सानो संसार’ रिलिज भएको थियो । तर, त्यसको भोलिपल्टै आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्यायो । अन्ततः निर्माता अर्जुनकुमार र माधव वाग्ले चलचित्रको प्रदर्शन स्थगित गरे । त्यसपछि पुनः प्रदर्शन हुँदा यस चलचित्रले राम्रो कलेक्सन गर्न सकेन । लगानी डुब्यो ।
बाढी र पहिरोको सिजनमा चलचित्र प्रदर्शनको माहोल नहुने उनी बताउँछन् । परिवार, छिमेक, आफन्त तथा जनता शोकमा रहेका बेला चलचित्र हेर्ने र हेर्नका लागि अपिल गर्ने वातावरण नहुने उनको भनाइ छ ।
करण असार/साउन तथा पुस/माघको समयमा चलचित्र रिलिज गर्नु जोखिमपूर्ण रहेको बताउँछन् । सानो बजारका कारण नेपालमा निर्मातालाई सिनेमा हलको विकल्प नहुनु पनि यसको कारण भएको उनको भनाइ छ ।
“हाम्रोमा सानो बजार छ । हलबाट लगानी उठ्यो भने निर्माताको पैसा सुरक्षित हुन्छ । तर, हलबाट उठेन भने लगानी डुब्छ,” करण भन्छन् ।
बलिउडलगायत ठूला चलचित्र उद्योगमा सेटलाइट र ओटीटीबाट नै निर्माताले आफ्नो चलचित्रको लगानी सुरक्षित गर्ने करण बताउँछन् ।
“भारतमा हल रिलिजअघि नै अधिकांश सिनेमाले ओटीटी र सेटलाइटबाट लगानी सुरक्षित गर्छन्,” करण भन्छन्, “तर, नेपालमा अवस्था त्यस्तो छैन । हलको विकल्प नै छैन । हल रिलिज नै सिनेमाको लगानी उठाउने माध्यम भएकाले हल रिलिजमा निर्माता जोखिम मोल्न चाहँदैनन् ।”
हल रिलिजको बलियो विकल्प नभएसम्म निर्माताले जोखिम उठाउने अवस्था नरहेको करणको भनाइ छ ।
