काठमाडौं । नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेलले वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै यो ०८४ सालसम्म कायम रहने बताएका छन् । शनिबार (साउन ३) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुने ठोकुवा गरे ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने उनले टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उनले जिकिर गरे ।
नेता पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिएको विषय साँचो भएको बताए । हाल देखिएको ओली र भण्डारीबीचको विवादको ‘सेटलमेन्ट’ चामत्कारिक रूपमा हुने उनको भनाइ थियो ।
उनले भण्डारी एमालेको राजनीतिमा फर्कने विषयले सिंगो मुलुक नै तरंगित भएको बताए । पार्टीको केन्द्रीय कमिटी बैठकबाट यो विषयमा एउटा निष्कर्षमा पुगिने उनले जानकारी दिए ।
मन्त्रीहरू घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएर मात्र नहुने भन्दै उनले अभियोजन गरेर दण्डित गरिनुपर्नेमा जोड दिए । हिमालयन टेली भ्वाइस