site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पलाई लागेको रोग कस्तो हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नसासम्बन्धी रोगबाट पीडित भएको ह्वाइट हाउसले बिहीबार जानकारी दिएको छ । उक्त रोगलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भनिन्छ । केही तस्बिरमा ट्रम्पको हातमा देखिएका चिह्नका कारण ह्वाइट हाउसका प्रवक्तासँग यसबारे प्रश्न सोधिएको थियो ।

ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार, ट्रम्पले हालै खुट्टामा सुन्निएको गुनासो गरेपछि उनको स्वास्थ्यको गहन परीक्षण गरिएको थियो । त्यसमा नसाको परीक्षण पनि समावेश थियो ।

लेभिटका अनुसार, ट्रम्प एस्पिरिन सेवन गरिरहेका छन् । र, यस्तो बेला कसैले बलियोसँग हात मिलाउँदा छालामा देखिने क्षति सामान्य हुने उनले बताइन् ।

७९ वर्षीय ट्रम्पले निरन्तर आफ्नो स्वास्थ्यको प्रशंसा गर्दै आएका छन् । उनले एकपटक आफूलाई ‘हालसम्मकै सबैभन्दा स्वस्थ राष्ट्रपति’ भनेका थिए ।

लेभिटले ट्रम्पमा डीप भेन थ्रम्बोसिसजस्ता कुनै गम्भीर धमनीसम्बन्धी रोग नदेखिएको बताइन् । सबै परीक्षण प्रतिवेदन सामान्य दायराभित्र रहेको उनले उल्लेख गरिन् ।

ह्वाइट हाउसका चिकित्सक डा. सीन बारबाबेलाले जारी गरेको एक विज्ञप्तिअनुसार, विशेष गरी ७० वर्षभन्दा माथिका व्यक्तिमा यस्तो अवस्था सामान्य र हानिरहित मानिन्छ ।

उनका अनुसार, थप परीक्षणमा ट्रम्पमा मुटु, मिर्गौला वा अरू कुनै अंगसम्बन्धी गम्भीर समस्या देखिएको छैन ।

क्रोनिक भेनस इन्सफिसिएन्सी भन्ने रोग लागेमा खुट्टाको नसाले रगतलाई मुटुसम्म पम्प गर्न सक्दैनन् । र, रगत खुट्टाको तल्लो भागमा जम्मा भई सुन्निने हुन्छ ।

टेक्सस युनिभर्सिटी, अस्टिनकी भास्कुलर सर्जरीकी सहायक प्राध्यापक डा. मेरिल लोगनका अनुसार, यो अवस्था तब देखिन्छ, जब नसा र तिनका भल्भले ठिकसँग काम गर्न छाड्छन् । र, रगत पुनः खुट्टातिर फर्कन थाल्छ ।

यही जुलाई १३ मा न्यु जर्सीमा फिफा क्लब वर्ल्ड कपको फाइनलका क्रममा फोटोग्राफरले ट्रम्पको सुन्निएको खुट्टाको तस्बिर खिचेका थिए ।

त्यसको केही दिनपछि बहराइनका प्रधानमन्त्री सलमान बिन हमद बिन इसा अल–खलिफासँगको भेटमा खिचिएको तस्बिरमा ट्रम्पको हातमा निलो चिह्न देखिएको थियो ।

गएको फेब्रुअरीमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंसँगको भेटमा पनि ट्रम्पको हातमा यस्तै चिह्न देखिएको थियो ।

ट्रम्पको सुन्निएको खुट्टा र हातमा देखिएको निलो चिह्नका आधारमा उनी कुनै गम्भीर रोगसँग जुधिरहेका छन् भन्ने अड्कल गरिएको थियो । तर, यसबारे त्यतिखेर औपचारिक जानकारी दिइएको थिएन ।

अप्रिलमा वार्षिक स्वास्थ्य परीक्षणपश्चात् डा. बारबाबेलले ट्रम्प मानसिक र शारीरिक रूपमा स्वस्थ रहेको उल्लेख गरेका थिए ।

वेक फरेस्ट युनिभर्सिटीमा भास्कुलर सर्जरी विभागका अध्यक्ष डा. म्याथ्यु एडवड्र्सका अनुसार, यो अवस्था कहिलेकाहीँ गम्भीर समस्यासँग सम्बन्धित हुनसक्छ । तर, सामान्यतया यो कुनै गम्भीर रोग होइन ।

उनले अगाडि भने, “मलाई लाग्छ, ट्रम्पको उमेर समूहका करिब १० देखि ३५ प्रतिशत व्यक्तिहरूमा यस्तो समस्या देखिन सक्छ ।”

विज्ञका अनुसार, अत्यधिक तौल, रगत जम्ने इतिहास र लामो समय उभिएर काम गर्नुपर्ने पेसा यो अवस्थाका जोखिम कारक हुन् । यसलाई व्यवस्थापन गर्न विशेष कम्प्रेसन स्टकिङ लगाउने सल्लाह दिइन्छ भने रातको समयमा खुट्टा माथि राखेर सुत्न सिफारिस गरिन्छ ।

क्रोनिक भेनस इन्सफिसिएन्सीमा शरीरको तल्लो भागमा मात्र असर गर्ने भएकाले ट्रम्पको हातमा देखिएको निलो चिह्नको कारक यो रोग होइन ।

चिकित्सकका अनुसार, हातमा देखिएको निलो चिह्न बलियो हात मिलाउने र एस्पिरिन प्रयोगका कारण भएको हो । एस्पिरिन यस्तो औषधि हो, जसले हृदयाघात, स्ट्रोक वा रगत जम्नबाट जोगाउँछ ।

डा. एडवड्र्सले ह्वाइट हाउसका चिकित्सकको विश्लेषणसँग सहमति जनाउँदै भने, “ट्रम्पको उमेर र एस्पिरिन प्रयोग नै यी चिह्नहरूको सम्भावित कारण हुन् ।”

उनले थपे, “विशेष गरी एस्पिरिन वा अन्य रगत पातलो बनाउने औषधि प्रयोग गर्नेहरूमा जति उमेर बढ्छ, त्यति नै छालामा निलो दाग देखिने सम्भावना पनि बढ्छ ।”

उनले अगाडि भने, “यदि, कसैले बलियोसँग तपाईंको हात समात्छ भने पनि यस्तो दाग देखिन सक्छ । मलाई लाग्छ, ट्रम्पको हात मिलाउने शैली अत्यन्त कडा थियो ।” बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्