काठमाडौं । इराकको पूर्वीसहर अल–कुटमा रहेको एक हाइपरमार्केटमा आगलागी हुँदा ६१ जनाको मृत्यु भएको छ । अन्य धेरैजना बेपत्ता भएका छन् ।
घटनामा ४५ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । सरकारद्वारा सञ्चालित इराकी समाचार एजेन्सीका अनुसार, अझै पनि केही मानिस बेपत्ता छन् ।
आगलागीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा पाँचतले भवनमा आगोको ज्वाला उठिरहेको देख्न सकिन्छ ।
वासित प्रान्तका गभर्नर मोहम्मद अल–मायाहीका अनुसार, हाइपरमार्केट र रेस्टुरेन्टमा आगलागी भएको छ । रातको खाना खाने समयमा आगलागी भएको थियो ।
एक हप्ताअघि मात्र खुलेको मलमा रेस्टुरेन्ट र सुपरमार्केट पनि थिए । हालसम्म आगलागीको कारण खुल्न सकेको छैन ।
घटनास्थलमा उद्धार र राहतकार्य जारी छ । गभर्नरका अनुसार, दमकल कर्मचारीले धेरै मानिसलाई उद्धार गरेर र आगो निभाएका छन् ।
यता, प्रान्तीय गभर्नरले घटनाको जाँच भइरहेको र ४८ घण्टाभित्र प्रारम्भिक नतिजा घोषणा गरिने बताएका छन् । उनले यस घटनालाई लिएर भवन र मलका मालिकविरुद्ध मुद्दा दायर गरेका पनि बताएका छन् ।
अलजजिराबाट ।