site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि

विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका छन् । बुधबार (असार ३२) बिहान पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग उनी कोइराला निवास पुगेका हुन् ।

उनले राजनीतिक परिवर्तनका निम्ति कोइराला निवासले गरेको योगदानको चर्चा गरे । नेपाल–भारतमैत्री संघको कार्यक्रममा सहभागी हुन उनी मंगलबार (असार ३१) विराटनगर आएका हुन् ।

कोइराला निवास कांग्रेसजनका निम्ति ‘साझा र पवित्र भूमि’ भएको उनले बताए । उनले भने ‘‘यहाँ आउनु भनेको एउटा पवित्र भूमिमा आएजस्तै हो । यसलाई राजनीतिक गुटसँग जोडेर हेरिनु हुन्न । निवासलाई गुटको हिसाबले हेरिनु हुँदैन ।’’

नेता खाँणले लोकतन्त्र प्राप्तिका निम्ति बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाजस्ता नेताहरूको भावनात्मक सम्बन्ध निवास र आमनागरिकसँग रहेको बताए ।

हालै पार्टीले गरेको अनुशासनसम्बन्धी कारबाहीको केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । उनले भने, ‘‘सभापति सफल हुँदा मात्र पार्टी हुने हो ।’’

कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनेमा आफू विश्वस्त रहेको उनले बताए । विशेष परिस्थितिमा एक वर्ष थपेर महाधिवेशन गर्न सकिने व्यवस्था रहेको उनले सुनाए । खाँणले वर्तमान सरकारका कमजोरी सुधार गर्ने प्रशस्तै ठाउँ रहेको औँल्याए । आउँदो आमनिर्वाचनसम्मै यो सरकार अघि बढ्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्