काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम, दुःख, विश्वास र धोका छ ।
टिजरको केन्द्रमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना छ । कोरिया जान भन्दै काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगी टिजरमा देख्न सकिन्छ ।
कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलमा पर्छन भन्ने देखाउने टिजरले सामान्य जानकारी समेत नलिइ तय गरिएको गन्तब्यमा पुग्न कति कठिन छ भन्ने तथ्य उजागर गरेको छ ।
परिवारको दुःख कटाउने सपना बोकेर हिँडेको पात्र आफैँ घनघोर दुःखको दुष्चक्रमा फसेको छ टिजरमा देखिन्छ । सपना नभेट्दाको दुःखसँगै सुरु हुने प्रेम पनि टिजरमा समावेश छ ।
टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतलाई देख्न सकिन्छ । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।