काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बंगलादेशको अन्तरिम सरकारविरुद्ध भ्रष्टाचारको आरोपपछि शेख हसिनाकी छोरी एवं दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक (एसईएआरओ) साइमा वाजेदलाई बिदामा पठाएको छ ।
समाचार एजेन्सी एएनआईलाई दिएको जवाफमा संगठनले भनेको छ, “डब्ल्यूएचओको क्षेत्रीय निर्देशक साइमा वाजेद हाल बिदामा छिन् ।”
डब्ल्यूएचओले यो अवधिमा डा. क्याथरिना बोह्मेले साइमाको जिम्मेवारी सम्हाल्ने जनाएको छ । “यो अवधिमा डा. क्याथरिना बोह्मेले जिम्मेवारी सम्हाल्नेछिन्,” डब्ल्यूएचओले भनेको छ ।
डा. क्याथरिना बोह्मे जुलाई १५ मा नयाँ दिल्लीस्थित डब्ल्यूएचओ एसईएआरओ कार्यालयमा पुग्ने जनाइएको छ ।
डब्ल्यूएचओले गरेको यो कारबाहीको प्रतिक्रिया दिँदै बंगलादेशका अन्तरिम सरकार प्रमुखका प्रेस सचिव शफिकुल आलमले शनिबार फेसबुक पोस्टमा लेखेका छन्, “हामी विश्व स्वास्थ्य संगठनले साइमा वाजेदलाई ठगी, जालसाजी र शक्तिको दुरुपयोगको गम्भीर आरोपमा चलिरहेको अनुसन्धानको बीचमा अनिश्चितकालीन बिदामा राख्ने निर्णयको स्वागत गर्छौं । हामी यसलाई जवाफदेहितातर्फको महत्त्वपूर्ण पहिलो कदमका रूपमा लिन्छौँ ।”
नेपालका शम्भुप्रसाद आचार्यलाई हराएर सन् २०२३ मा साइमा डब्ल्यूएचओको एसईएआरओ प्रमुख बनेकी थिइन् ।