काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा भाग लिन गएका नेपाली नफर्किएका विषयमा जवाफ माग गरेकी छन् । आइतबार (असार २९) प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
स्पेन प्रकरणले मानव तस्करीको सञ्जाललाई राजनीतिक संरक्षण दिइएको छर्लंग भएको उनले आरोप लगाइन् । उनले ०७८ साल फागुनमा बनाइएको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकामा पनि आपत्ति जनाइन् ।
उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका निम्ति संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग गरिन् ।
उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन् ।
प्रतिनिधिसभा बैठकमा सांसद सुमना श्रेष्ठको भनाइ पढ्नोस्–
हामीले सदनमा उठाउँदै आएको विषय स्पेनको केसले झन् पुष्टि भएको छ । सबैभन्दा दुःखको कुराचाहिँ सदनमा यत्रो आन्दोलन हुँदाहुँदै पनि तस्करहरूलाई न डर छ न भय, न त संकोच नै । कसको संरक्षण र अकर्मण्यताले गर्दा यत्रो आँट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो ? सदनको गरिमा त निलो रिबनभन्दा यसमा खोज्नुपर्ला सभामुख महादेय ! कसले खसालेको छ र कसरी ? पक्कै पनि २०७८ फागुनमा बनेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरूको सम्बन्धमा सिफारिस गर्न गठित अध्ययन प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन दुलोमा धुलो बटुलेर बसेको छ ? त्यसैले त हामीले संसदीय छानबिन मागेका हौँ वा उच्चस्तरीय छानबिन आयोग मागेका हौँ । फेरि पनि त्यस्तै कार्यदल बनाएर सरकारले कसको आँखामा छारो हालेको ? किन डराएका छैनन् तस्करहरू ? सभामुख महोदय, तस्कर र भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ । तपाईंलाई थाहा थियो कि थिएन ? न्युज एजेन्सी नेपाल