काठमाडौं । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको विरुद्धमा पदाधिकारीसहितका नेताहरुले मोर्चा कसेका छन् ।
राजसंस्था पुनर्स्थापना अभियानको आन्दोलनलाई कमजोर पार्ने भूमिका निर्वाह गरेको आरोप लागिरहेकै बेला दुई जना पदाधिकारीलाई लिङ्देनले जिम्मेबारीबाट हटाएपछि उनीहरुविरुद्धको अभियान झनै जुर्मुराएको छ ।
असार २५ गते बुधबार राप्रपा अध्यक्ष लिङदेनले केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरे भने प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेबारी खोसिदिए ।
उक्त पत्र सार्वजनिक भएपछि राप्रपामा पहिलेदेखिको कलह झनै चर्किएको थियो ।
शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको बैठकले आज निर्वाचन आयोग पुगेर विधि र विधानका बारेमा जानकारी गराउने निष्कर्ष निकालेको छ ।
अनुशासन समितिको अध्यक्षमा रहेका नवराज सुवेदीलाई हटाएर लिङ्देनले कार्कीलाई नियुक्ति दिएका थिए ।
सुवेदीले राजसंस्था पुनर्स्थापना अभियानका क्रममा धेरै कार्यकर्ता र शुभेच्छुकले पार्टी र संसद् छाडेर राप्रपा सडकमा आउनुपर्ने सुझाव दिएका कारण आफू राप्रपाको सदस्यता त्याग गरेर सडकमा आउन तयार रहेको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिलाई आधार बनाउँदै हटाएको लिङ्देन समूहको दाबी छ ।
”पार्टीको हितविपरीतका काम गरेको पाइएपछि र उहाँले पनि अहिले पार्टीको साधारण सदस्य पनि नरहने घोषणा गरेका कारण जिम्मेबारी मुक्त गरिएको हो, उहाँ पार्टीमा क्रियाशील रहन सक्नुहुनेछ,” लिङ्देन निकट एक नेताले भने ।
राप्रपाका एक प्रवक्ता मोहन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत् सुवेदीले चैत ४ गते नै राप्रपा परित्याग गरेको घोषणा गरेको हुनाले निर्वाचन आयोग पुगेर राप्रपामै छु भनिरहन जरुरी नभएको बताएका छन् ।
उनले भनेका छन्, “लोकलाजको ख्याल गर्नुस् बा, जीवनको उत्तरार्धमा इमान नछाड्नोस् । तपाईं फेरि राप्रपामा सक्रिय हुन सक्नुहुन्छ तर बाटो त्यता होइन है ।”
सुवेदी निकट अर्का नेताले बाह्रखरीसँग कुरा गर्दै चैत ४ लगत्तै डा. प्रकाशचन्द्र लोहनीको घरमा बसेको बैठकमा सुवेदीलाई लिङ्देनले नै ‘दाइ, तपाईंले अहिले पार्टी छाड्ने होइन, पुरानै जिम्मेबारीमा हुनुहुन्छ’ है भनेको दाबी गरे ।
त्यसपछि पनि समितिका दुईवटा बैठक बसेर सुवेदीले निर्णय गरिसकेका छन् ।
शनिबारको भेलामा सहभागी सहायक महामन्त्री ऋषिराज देवकोटाले पनि पार्टीमा केही विधि विधान मिच्ने काम भएको हुनाले त्यसबारेमा जानकारी गराउन निर्वाचन आयोग जाने विषयमा छलफल भएको बताए ।
उनले पनि लोहनको निवासमा भएको भेलामा सुवेदीलाई जिम्मेबारी नछाड्न आग्रह गरिएपछि दुईवटा बैठक बसेको बताए ।
“आन्दोलन र पार्टी सँगसँगै लैजाने हो, अहिले किन छाड्नुपर्यो भनेर डा. लोहनीको घरमा उहाँलाई भनिएको हो,” देवकोटाले भने, “पार्टीको विधानमा पनि स्पष्टीकरण नसोधिकन हटाउन र कारबाही गर्न मिल्दैन । अधिवेशन नजिकै आइरहेको समयमा पार्टीभित्र यस्तो अवस्था आउनुहुँदैन भनेर सुवेदी निर्वाचन आयोग जान्छु भन्नुभएको छ ।”