site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाज रूपान्तरणका निम्ति विचार सबैभन्दा महत्त्वपूर्ण : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणका निम्ति विचार नै सबैभन्दा महत्त्वपूर्ण भएको बताएकी छन् । शनिबार (असार २८) काठमाडौंमा मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

‘स्टेट, सोसाइटी एन्ड डेभलपमेन्ट जर्नल’को विमोचन कार्यक्रममा उनले जर्नल ‘जबज’लाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने एउटा आधिकारिक माध्यम बन्ने उल्लेख गरिन् । जबजले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई अघि बढाएको उनले बताइन् ।

नेकपा (एमाले)ले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसात् गरेको उनको भनाइ थियो ।

जबजलाई  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताका बीचमा अझ व्यापक रूपमा पुर्‍याउनुपर्नेमा उनले जोड दिइन् । “यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरू समेटिन नसक्नुलाई अन्यथा रूपमा लिनु हुँदैन,” उनले भनिन्, “यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरूका बीचमा अझ व्यापक रूपमा पुर्‍याउनुपर्छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्