site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘अपरेसन सिन्दूर’बारे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारले भने– एउटा सिसा पनि फुटेन

काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानविरुद्धको सैन्य अभियान ‘अपरेसन सिन्दूर’को समयमा भारतलाई कुनै क्षति नभएको दाबी गरेका छन् ।

शुक्रबार डोभालले भने, “मलाई एउटा यस्तो तस्बिर देखाउनुहोस् जसले ‘अपरेसन सिन्दूर’को समयमा भारतलाई भएको कुनै पनि क्षति भएको देखाउँछ ।”

उनले यो अपरेसनमा प्रयोग भएका स्वदेशी हतियारहरूको प्रशंसा गर्दै भने, “हामीलाई स्वदेशी हतियारहरूको प्रयोगमा गर्व छ । यो अपरेसनमा केही उत्कृष्ट प्रणालीहरूले काम गरेको कुरामा पनि गर्व छ । चाहे त्यो ब्रह्मोस मिसाइल होस्, एकीकृत हवाई नियन्त्रण र कमान्ड प्रणाली होस् वा रडारहरू होस् ।”

डोभालले पाकिस्तानभित्र नौ आतंकवादी अखडाहरूलाई निसाना बनाउने निर्णय त्यतिबेला लिएको बताए ।

उनले विदेशी मिडियामा अपरेसन सिन्दूरबारे प्रकाशित समाचारहरूमा टिप्पणी गर्दै भने, “विदेशी मिडियाले पाकिस्तानले यो गर्‍यो, त्यो गर्‍यो भन्छ तर एउटा यस्तो तस्बिर देखाउनुहोस् जसले भारतलाई भएको क्षति देखाउँछ । यहाँसम्म कि एउटा सिसाको झ्याल पनि फुटेको होस् ।”

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्