site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धवलशमशेरलाई कमजोर पार्न सगुनसुन्दरलाई प्रवक्ताबाट हटाइयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणाको प्रतिस्पर्धाको प्रभाव देखिएको छ । राजा फर्काउने आन्दोलनमा लिङदेनलाई उछिन्दै जनपरिचालन संयोजक बनेका डा. धवलशमशेर र अध्यक्ष लिङदेनबीच मुद्दा र निर्णय प्रक्रियामा लडाइ चल्दै आएको थियो । 

महामन्त्री डा. धवलशमशेर निकट रहेका सगुनसुन्दर लावतीलाई अध्यक्ष लिङदेनले बुधबार प्रवक्ताको जिम्मेवारीबाट हटाइदिएका छन् । राजतन्त्रका पक्षमा रहेको सबैभन्दा ठूलो र संसद्मा प्रतिनिधित्व गर्ने पार्टी राप्रपा हुँदा हुँदै पूर्वराजा ज्ञानेन्द्र शाहको इच्छामा नवराज सुवेदीलाई संयोजक बनाएर जनआन्दोलन परिचालन समिति बनाएपछि राप्रपाले त्यसमा सक्रिय सहभागिता नजनाउने रणनीति लिएको थियो ।

तर, महामन्त्री धवलशमशेरसहित एउटा समूह आन्दोलनका पक्षमा खुलेर लागेपछि सिंगो राप्रपा नै आन्दोलनमा तानिएको थियो । आन्दोलनमा सहभागी हुँदाहुँदै पनि राजावादी समूहले लिङदेन मनैदेखि आन्दोलनमा सहभागी नभएको आरोप लगाउँदै आएका थिए । 

सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको सचिवालय राप्रपाको चाबहिलस्थित कार्यालयमा रहनेगरी निर्णय भए पनि लिङदेनमाथि प्रश्न उठाएर कमल थापाको हाँडीगाउँस्थित कार्यालयमा लगेपछि राजावादी आन्दोलनमा रहेको विवाद बाहिरिएको थियो । राप्रपामा ‘लिङदेनलाई आन्दोलनमा जाँदा पनि जस नपाउने र नजाँदा पनि उसको राजतन्त्रसम्बन्धी मुद्दामै प्रश्न उठाउने संकट’ सम्बन्धी समाचार बाह्रखरीमा प्रकाशित भएपछि राप्रपाको कार्यसम्पादन समितिमै त्यही विषयमा छलफल चलेको थियो । 

बाह्रखरीको समाचारको विषयमा छलफल भएको र केहीलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको राप्रपाका एक प्रवक्ताले बाह्रखरीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्