काठमाडौं । प्यालिस्टिनको गाजा पट्टीमा खाद्य सामग्रीको प्रतिक्षामा पर्खिरहेका कम्तीमा ५८३ प्यालेस्टाइनीहरू मारिएका छन् । चार हजार १८६ जना घाइते भएका छन् ।
गाजा पट्टीको स्वास्थ्य मन्त्रालयका अनुसार मे २७ देखि इजरायल र अमेरिका समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)द्वारा सञ्चालित सहायता वितरण स्थलहरूमा उक्त संख्यामा प्यालेस्टाइनीहरू मारिएका बताइएको छ ।
नाकाबन्दीले ग्रस्त यो क्षेत्रमा खाद्य संकटको चरम अभाव सामना गरिरहँदा सहायता वितरण स्थलहरूमा खाद्य सामग्री लिन पर्खिरहेका प्यालेस्टाइनीहरूको हत्या भइरहेको छ । अन्तर्राष्ट्रिय संगठनहरूले लामो समयदेखि गाजाका २१ लाख बासिन्दाहरूले चरम खाद्य अभावको सामना गरिरहेका बताएका छन् । बजारमा दैनिक खाद्य सामग्री उपलब्ध गराउने आपूर्ति खाली भएको छ । स्वच्छ पानीको अभाव छ भने सहायता वितरण अनियमित तथा खतरनाक अवस्थामा पुगेको छ ।
जीएचएफ सञ्चालनको पहिलो आठ दिनमा इजरायली सेनाको गोलीबारीबाट १०० भन्दा बढी मानिस मारिएका थिए ।
गाजामा खाद्य सामग्रीको एकमात्र स्रोत जीएचएफ बनेको छ । इजरायलले अन्य देशबाट आपूर्तिको प्रवेशमा कडा प्रतिबन्ध लगाएको छ ।
“यहाँ धेरै मानिसहरू जीएचएफ केन्द्रहरूबाट टाढा रहने प्रयास गरिरहेका छन् किनभने त्यहाँ जानु खतरनाक छ । सहायता खोज्नेहरूमाथि निरन्तर र जानाजान गोलीबारी भइरहेको छ,” स्थानीय नागरिक महमूदले भने । तर, जीएचएफ केन्द्रहरूबाट टाढा रहनु नै समस्याको समाधान होइन । उनी भन्छन्, “यदि, तपाईंसँग खाद्य पार्सलहरू छैनन् भने बच्चाहरू भोकै सुत्नुपर्ने हुनसक्छ ।”
सहायता वितरण स्थल कहाँ छन् ?
पहिले संयुक्त राष्ट्रसंघको नेतृत्वमा सञ्चालित वितरण सञ्जालले गाजा पट्टीमा करिब ४०० स्थलहरू सञ्चालन गरेको थियो । तर, अमेरिकी कम्पनीका लागि काम गर्ने सशस्त्र निजी सुरक्षा ठेकेदारहरूद्वारा सञ्चालित जीएचएफले केवल चार मेगा–साइटहरू स्थापना गरेको छ । तीनवटा दक्षिणमा र एउटा मध्य गाजामा । उत्तरमा कुनै पनि वितरण केन्द्र छैन । त्यसैले उत्तरी क्षेत्रको अवस्था सबैभन्दा गम्भीर छ ।
जीएचएफ केन्द्रहरू अनियमित रूपमा सञ्चालन हुन्छन् । कहिलेकाहीँ क घण्टा मात्रै खुल्छन् । एउटा जीएचएफ केन्द्रले फेसबुकमा खुल्ने घोषणा गर्यो तर आठ मिनेटपछि आपूर्ति सकिएको जानकारी पोस्ट गर्यो । केन्द्रहरू सुरुमा आउनेलाई पहिलो सेवा दिने आधारमा सञ्चालन हुन्छन्, जसले प्रायः सीमित स्रोतहरूका लागि ठूलो भीड जम्मा हुने र अराजकता निम्त्याउने अवस्था सिर्जना गर्छ ।
सहायता वितरण केन्द्रहरूमा कसरी पहुँच प्राप्त गर्ने ?
यी केन्द्रहरूमा पहुँच पुर्याउनु जोखिमपूर्ण छ । प्यालेस्टाइनीहरूले कहिलेकाहीँ सक्रिय युद्ध क्षेत्रहरू हुँदै धेरै किलोमिटर पैदल हिँड्नुपर्छ । बायोमेट्रिक चेकपोइन्टहरू पार गर्नुपर्छ । र, आफ्ना परिवारका लागि भारी सामान बोकेर फर्कनुपर्छ ।
यसले सबैभन्दा कमजोर व्यक्तिहरू वृद्ध, घाइते र अशक्तहरूलाई खाद्य सामग्रीको पहुँचबाट वञ्चित गर्छ । किनभने उनीहरू यस्तो यात्रा गर्न सक्तैनन् ।
सहायता बक्स (पार्सल)हरूमा के हुन्छ ?
सहायता बक्सहरूले बाँच्नका लागि न्यूनतम आवश्यकता पनि मुस्किलले पूरा गर्छन् । विश्व खाद्य कार्यक्रमले प्रतिव्यक्ति प्रतिदिन दुई हजार १०० क्यालोरी सिफारिस गरे पनि इजरायलले सहायतालाई एक हजार ६०० क्यालोरीमा सीमित गरेको छ ।
जीएचएफका पार्सलहरूले करिब एक हजार ७५० क्यालोरी प्रदान गर्छन् । तर, यो पोषण आवश्यकताभन्दा धेरै कम छ । तिनमा स्वच्छ पानी, औषधि, कम्बल वा इन्धन हुँदैन । धेरैका लागि बक्स प्राप्त गर्नु राहतभन्दा पनि भाग्य हो । यो रासनले परिवारहरूलाई जिउँदो राख्न मात्र सहयोग गर्छ ।
एक सामान्य जीएचएफ बक्समा चार किलोग्राम (८.८ पाउन्ड) पिठो, केही झोला पास्ता, दुई क्यान फावा बिन्स, एक प्याक चिया र केही बिस्कुट हुन्छन् । केही पार्सलहरूमा दाल र सानो मात्रामा सूप मिश्रण समावेश हुन्छ । तर, तिनको मात्रा न्यून हुन्छ ।
सहायता खोज्नेहरूलाई जानाजान गोली हानिएको छ ?
इजरायलको हारेत्ज अखबारले इजरायली सैनिकहरूलाई उदृत गर्दै बताएअनुसार सैनिकहरूलाई प्यालेस्टाइनीहरूको भीडमा गोली चलाउन र कुनै खतरा नदेखिने व्यक्तिहरूविरुद्ध अनावश्यक घातक बल प्रयोग गर्न आदेश दिइएको थियो ।
“हामीले ट्यांकहरूबाट मेसिनगन चलायौँ र ग्रेनेडहरू फ्याँक्यौँ,” एक सैनिकले हारेत्जलाई भने, “एउटा घटनामा, कुहिरोको आडमा अघि बढिरहेका नागरिकहरूको समूहलाई गोली हानियो ।”
अर्को घटनामा एक सैनिकले आफ्नो तैनाथी भएको गाजाको क्षेत्रमा प्रत्येक दिन एकदेखि पाँच जनासम्म मारिएको बताए । “यो त हत्याक्षेत्र हो,” ती सैनिकले भने ।
जीएचएफ के हो ?
सन् २०२३ को अक्टोबर ७ मा युद्ध सुरु हुनुअघि गाजामा दैनिक करिब ५०० ट्रकहरूले मानवीय सहायता पुर्याउँथे । इजरायलले गाजामा युद्ध सुरु गरेपछि अवस्था बदलियो । सहायता वितरण दैनिक ८० ट्रकभन्दा कममा झर्यो । मार्चबाट इजरायलले सबै आपूर्तिमा लगभग तीन महिनासम्म पूर्ण नाकाबन्दी लगायो ।
मे २७ मा जीएचएफले निजी ठेकेदारको रूपमा सहायता सञ्चालनको जिम्मेवारी लियो । र, परम्परागत संयुक्त राष्ट्रसंघको ढाँचाबाहिर नयाँ वितरण प्रणाली सुरू गर्यो ।
यो वर्ष अमेरिकामा स्थापित यो संगठनलाई द न्यूयोर्क टाइम्स अखबारले ‘इजरायली मस्तिष्कको उपज’ भनेर वर्णन गरेको छ । यो सन् २०२३ मा इजरायलले गाजाको भविष्यका लागि बनाएको दीर्घकालीन रणनीतिको हिस्सा हो ।
जीएचएफले आफ्ना वित्तीय स्रोतहरू सार्वजनिक गरेको छैन । यसले १०० मिलियन डलरको प्रतिबद्धता प्राप्त गरेको बताएको छ । तर, विवरण अस्पष्ट छ । अमेरिकी विदेश मन्त्रालयले हालै ३० मिलियन डलर समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । अलजजिरा