काठमाडौं । जेनजी अगुवा तनुजा पाण्डेले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङलाई जेनजीको नाम नबेच्न चेतावनी दिएकी छिन् ।
गुरुङलाई उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको ‘जेठो छोरो’को संज्ञा दिँदै सामाजिक सञ्जाल फेसबुकमा चेतावनीपूर्ण स्टाटस राखेकी छिन् ।
“राजनीतिमा राजनीतिक चेतना किन महत्त्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’लाई हेरेर नै आकलन गर्न सकिन्छ । जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ । तपाईंका मागहरू पूरा नभए जेनजी ‘फेल’ हुन्छ भन्ने कथ्य जबर्जस्ती थोप्ने काम अब बन्द गर्नुहोस्,” उनले लेखेकी छिन् ।
साथै, उनले प्रदर्शनमुखी गेट–किपिङ आफैँमा लज्जास्पद रहेको र पक्षपात नहोस् भन्ने चाहना राख्नेले सबैभन्दा पहिले त्यो संस्कार आफैँबाट सुरु गर्नुपर्ने बताइन् ।
नेपाल प्रयोगशाला नभएको भन्दै आफ्नो अभिव्यक्तिको ख्याल गर्न पनि उनले सुझाएकी छिन् ।

“कहिले नेताहरूलाई निर्वाचनमा आउन नदिने घोषणा गर्छौ, कहिले पार्टी नै आवश्यक छैन भन्छौँ । कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्छौ, अनि तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्छौ,” उनले लेखेकी छिन् ।
पछिल्ला तीन महिनामा सुधनको अस्थिर र असंगत कदमले देश र जेनजीको आन्दोलनलाई ठुलो क्षति पुर्याएको स्पष्ट पारेकी छिन् ।
उनले थपेकी छिन्, “तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचाहिएको बेला पुनस्र्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन । खबरदार ! नेपाल कसैको प्रयोगशाला होइन । व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र जेनजीको नाम बेच्ने काम तुरुन्त बन्द गर ।”
गुरुङलाई अब केही समय विश्राम लिन तनुजाको सुझाव छ । “अब केही समय विश्राम लिनुहोस् । जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ । गम्भीर राजनीतिक विषयमा तपाईंका बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्,” तनुजाले लेखेकी छिन् ।