काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राधिकरण प्रबन्धक भई उनी पोखरा विमानस्थल आयोजना कार्यान्वयन इकाइ प्रमुखका रूपमा कार्यरत थिए ।
अख्तियारले मंगलबार (पुस १) विशेष अदालत दायर गरेको हो । मुद्दामा उनीसँग दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा बिगो मागदाबी गरिएको छ ।
मुनंकर्मीले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जनबाट भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनले दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारका अनुसार, मुनंकर्मी ०५४ फागुन १ गते सरकारी सेवामा प्रवेश गरेका थिए । अख्तियारले सरकारी सेवामा प्रवेश गरेदेखि ०८० मंसिर १४ गतेसम्म मुनंकर्मीले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरेको थियो ।
उक्त अवधिमा मुनंकर्मीको वैधानिक आय तीन करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ २० पैसा देखिएको छ । तर, सोही अवधिमा उनको खर्च ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ ३९ पैसा देखिएको अख्तियारले जनाएको छ ।
“समग्रमा कुल आयभन्दा कुल व्यय दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ १९ पैसाले बढी भई स्रोत पुष्टि भएको नदेखिएको,” अख्तियारको विज्ञप्तिमा भनिएको छ ।
मुनंकर्मीले श्रीमती पूर्णकेशरी गोसाईका नाममा पनि गैरकानुनी तरिकाले आर्जित सम्पत्ति राखेको अख्तियारले जनाएको छ । उक्त सम्पत्ति जफत गर्ने उद्देश्यले उनकी श्रीमतीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।