काठमाडौं । दैलेख र रुपन्देहीमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
आइतबार (मंसिर २८) दैलेख, गुराँस गाउँपालिका–२ लमचुणीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । क.प्र ०२–००१ त ०५२७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने १८ वर्षीय चालक भुवन रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार (मंसिर २९) रुपन्देहीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाएको मृत्यु भएको छ ।
रोहिणी गाउँपालिका–३ परासिझुमास्थित सडकमा रोकिराखेको एचआर ५५ डब्ल्यू ०३०१ नम्बरको ट्रकमा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ओमसतिया गाउँपालिका–
३ बरसरी बस्ने २१ वर्षीय राजु हरिजन र २३ वर्षीय रोहित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।