site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

भदौ २३ र २४ मा भएको विध्वंसमा तारो बनाइएको र सबैभन्दा बढी क्षति भोगेको राजनीतिक पार्टीमध्ये प्रमुख एउटा दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) धुलो टकटक्याउँदै भुइँबाट उठ्नेमा पनि पहिलो नै हुनपुगे छ । भक्तपुरको सल्लाघारीमा हनिवार १औं महाधिवेशन उद्घाटन गरिएपछि एमाले पहिलो जुझारु पार्टी देखिन पुगेको हो । 

जेन–जीका नाममा भएको आन्दोलन र विद्रोहको एउटा प्रमुख पक्ष एमाले नै थियो । विद्रोहका कारण विस्थापित गरिएको सरकारको नेतृत्व एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले गरेका थिए । सरकारमा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि सहभागी थियो । नियमित महाधिवेशन नै गरिहाल्नुपर्ने अवस्थामा रहेको कांग्रेस भने लामो समयसम्म निर्णयविहीन अवस्थामा रह्यो । 

जीवन्त राजनीतिक दलका रूपमा एमालेको यो सक्रियता पक्कै पनि अरू दलका लागिसमेत अनुकरणीय छ । स्मरणीय छ, विधानतः एमालेको महाधिवेशन गरिहाल्नुपर्ने वाध्यता थिएन । तर, जेन(जी आन्दोलनपछिको परिस्थितिका कारण एमालेले अग्रीम महाधिवेशन गर्ने निर्णय लिएको हो । त्यसो त, अध्यक्ष ओलीमाथि  पद छाड्नका लागि पार्टी  पङ्क्तिबाटै चर्को दबाब पनि परेको थियो । 

एमालेमा पछिल्ला दिनमा विकसित घटनाक्रम र परिस्थिति हेर्दा नेतृत्व परिवर्तन हुने सम्भावना भने निकै कम देखिन्छ । यद्यपि, अध्यक्ष ओलीको विरोध पार्टीबाहिर झन् बढी हुनाले  नेतृत्व परिवर्तन दलको छविका लागि महत्त्वपूर्ण हुनसक्छ । 

एमाले नयाँ बनेर उभिन्छ कि पुरानै रहन्छ भन्ने सबैभन्दा बढी चिन्ता त पक्कै पनि सोही पार्टीका नेता कार्यकर्तालाई हुन्छ तर एमालेको महाधिवेशनप्रति सबै नेपालीको चासो र अपेक्षा भने छ । तर, नेतृत्व परिवर्तन गर्ने कि नगर्नेलगायत आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निर्ण भने एमालेजनले नै गर्ने हो । एमालेका नेता कार्यकर्ताबाहेक अरूले चासो वा चाहना राखे पनि हस्तक्षेप गर्ने अधिकार हुँदैन ।

अहिले पुराना ठूला दलहरू र त्यसमा पनि कांग्रेस र एमालेलाई नेपाली राजनीतिका ‘खलनायक’का रूपमा चित्रण गरिएको छ । बुझ्न र पढ्नभन्दा सामाजिक सञ्जालमा तयार गरिएको कुटिल भाष्यलाई सत्य मान्नेहरू निर्णायक हुँदैगएको भए पनि मध्ययुगीन अन्धकारबाट देशलाई आधुनिक संसारमा ल्याउन कांग्रेस र एमालेले गरेको योगदानको अवज्ञा गर्न मिल्दैन । विडम्बना, अहिलेको पुस्ता इतिहास पढ्दैन । 

यसैले एमालेका नेताहरूका सामु एमालेजनमात्र होइन देशलाई नै अराजक अधिनायकवादको बाटामा जान रोक्नका लागि सक्षम नेतृत्व चयन गर्नुपर्ने चुनौती छ । एमालेले राजनीतिक गति देखाएर पार्टीमा प्राणवायुको सञ्चार गरेको छ । सम्भवतः सल्लाघारीको उपस्थितिले एमाले सकिएको ठानेर रमाउनेहरूको निद्रा खलखल्याउनेछ । जेहोस्, एमाले महाधिवेशनपछि थप सुदृढ र जीवन्त बन्न सकोस् भन्ने शुभकामना !  
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्