site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल–२ : ब्याटिङमा विदेशी ब्याटरको दबदबा, बलिङमा नेपाली हाबी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा शनिबार साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजे हुँदै छ ।

सुदूरले पहिलो क्वालिफायरमाा विराटनगर किंग्सलाई ७६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लुम्बिनीले भने बिहीबार दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थानमा बनाएको हो । 

सवार्धिक रन बनाउने विदेशी खेलाडी अगाडि

प्रतियोगिताको प्लेअफ समाप्त हुँदा सर्वाधिक रन बनाउनेमा विदेशी खेलाडी अगाडि छन् । 

सूचीको शीर्ष पाँचमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, लुम्बिनी लायन्सका कप्तान तथा मार्की रोहितकुमार पौडेल, कर्णाली याक्सका मार्क वाट र लुम्बिनी लायन्सका डी’एर्सी सर्ट छन् । 

यीमध्ये पोखराका रोसिङ्टन सूचीको शीर्षस्थानमा छन् । इंग्ल्यान्डका विकेट किपर ब्याटर रोसिङट्नले हालसम्म सात इनिङ खेल्दा एक शतक र दुई अर्धशतकसहित ३२३ रन जोडेका छन् । 

रोसिङट्नले प्रतियोगिताको समूह चरणमा कर्णाली याक्सविरुद्धको खेलमा १०८ रनको शतकीय इनिङ खेलेका थिए । 

सुदूरका ओपनर विनोद भण्डारी सूचीको दोस्रो स्थानमा छन् । विनोदले हालसम्म आठ इनिङ खेल्दा दुई अर्धशतकसहित २६४ रन जोडेका छन् । 

विनोदले प्रतियोगिताको पहिलो क्वालिफायरमा विराटनगर किंग्स र समूह चरणमा लुम्बिनी लायन्सविरुद्ध क्रमशः ६३ र ६९ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।  

लुम्बिनीका कप्तान तथा मार्की प्लेयर रोहितकुमार पौडेल सूचीको तेस्रो स्थानमा छन् । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले हालसम्म आठ इनिङ खेल्दा २६० रन जोडेका छन् । 

रोहितले समूह चरणमा कर्णाली याक्सविरुद्ध ४३ बलमा ४९ रन जोडेका थिए । उनले हालसम्म खेलेको सबैभन्दा ठूलो इनिङ यही नै हो । 

कर्णालीका मार्क वाट सूचीको चौथो स्थानमा छन् । वाटले कर्णालीबाट सात इनिङ खेल्दा समान एक शतक र एक अर्धशतकसहित २४६ रन जोडेका छन् । 

वाटले लुम्बिनी लायन्सविरुद्ध ४४ बलमा ११४ रनको शतकीय इनिङ खेले । त्यसैगरी, उनले पोखरा एभेन्जर्सविरुद्ध ५९ रनको अर्धशतकीय इनिङ पनि खेलेका थिए । 

लुम्बिनीका डी’एर्सी सर्ट सूचीको पाँचौँ स्थानमा छन् । अस्ट्रेलियाका ब्याटर सर्टले हालसम्म नौ इनिङ खेल्दा एक अर्धशतकसहित २४२ रन जोडेका छन् । 

सर्टले प्रतियोगिताको समूह चरणमा विराटनगर किंग्सविरुद्ध ४४ बलमा ५७ रन को अर्धशतकीय इनिङ खेलेका थिए ।

नेपाली बलर हाबी 

प्रतियोगितामा हालसम्म सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष पाँचमा सबै नेपाली खेलाडी छन् । सूचीको शीर्ष पाँचमा विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिम रोयल्सका अभिनाश बोहरा, लुम्बिनी लायन्सका शेर मल्ल, काठमाण्डू गोर्खाजका साहब आलम र कप्तान करण केसी क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् ।

विराटनरका कप्तानसमेत रहेका सन्दीपले हालसम्म नौ इनिङ खेल्दा १७ विकेट लिएका छन् । उनले २१६ बल फ्याँक्दा १७७ रन खर्चिएका छन् । 

यस्तै, सुदूरका अभिनाश बोहरा सूचीको दोस्रो स्थानमा छन् । अभिनाशले हालसम्म आठ इनिङ खेल्दा १६ विकेट लिएका छन् । उनले यसक्रममा १५१ बल फ्याँक्दा १९४ रन खर्चिएका छन् ।
 
सूचीको तेस्रो स्थानमा छन्, लुम्बिनीका शेर मल्ल । उनले लुम्बिनीबाट हालसम्म नौ इनिङ खेल्दा १४ विकेट लिएका छन् भने १९२ बल फ्याँक्दा २१६ रन जोडेका छन् । 

काठमाण्डू गोर्खाजका साहब आलम सूचीको चौथो स्थानमा छन् । साहबले काठमाण्डूबाट आठ इनिङ खेल्दा १३ विकेट लिएका छन् । उनले १६८ बल फ्याँक्दा १७४ रन खर्चिएका छन् । 

साहबसँगै समान १३ विकेट लिएका काठमाण्डूकै कप्तान करण केसी सूचीको पाँचौ स्थानमा छन् । करणले आठ इनिङ खेल्दा १३ विकेट लिएका छन् । उनले १७३ बल फ्याँक्दा २१४ रन खर्चिएका छन् ।   

  
 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्