काठमाडौं । जेनजी अभियन्ताले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नसके आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
स्रोतसाधनको समस्या देखाएर सधैँ पन्छिन नमिल्ने भन्दै उनीहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार (मंसिर २६) उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
जेनजी अभियन्ता शिरीष शाहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मतभन्दा बढी नेपाली विदेशमा रहेका र उनीहरूले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग आफूहरूको रहेको बताए ।
हरेक नागरिकको मताधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
जेनजी अभियन्ता प्रकृति ढकालले नेपाली अट्ने नेपाल ठूलो रहेको बताउँदै मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन आग्रह गरेको बताए ।
“स्रोतसाधनको समस्या देखाएर सधैँ पन्छिन मिल्दैन,” उनले भने, “विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नसके आन्दोलन गर्छौं ।”
विश्वमा एक सय १५ भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने ढकालको भनाइ छ ।
उनीहरूले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपाली नागरिकको मताधिकारको विषयलाई लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।