काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीले लाभांश घोषणा गरेका छन् ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, डिप्रोक्स लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियलले गत आवको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
फर्स्ट माइक्रोफाइनान्सले करसहित ६.५ प्रतिशत अर्थात् आठ करोड ७४ लाख १६ हजार ६३६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ ।
त्यसैगरी, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद (करसहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
यता, नेपाल लाइफले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । जसमा पाँच प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) रहेको छ ।
आईजीआई प्रुडेन्सियलले भने १५ करोड १४ लाख ६६ हजार अर्थात् चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो ।
उल्लिखित कम्पनीहरूले प्रस्ताव गरेको लाभांश सम्बन्धित कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले पाउनेछन् ।