site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रसुवा–तातोपानी नाका बन्द हुँदा अर्बौंको कारोबार प्रभावित, स्थानीय रुष्ट
फाइल तस्बिर ।

काठमाडौं । उत्तरी छिमेकी चीनसँगको मुख्य व्यापारिक नाकामध्ये रसुवा र तातोपानी वर्षाले भौतिक संरचना क्षतविक्षत हुँदा व्यापारमा वर्षभर ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ । यसपालि त झन् रसुवामा गत असार २४ गतेको बाढीले दुई देश जोड्ने व्यापारिक नाकाको मैत्री पुल क्षतविक्षत गर्‍यो ।

यता, तातोपानी नाकामा पनि सडक स्तरोन्नतिको माग राख्दै मंसिर २० गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन गरेका कारण अवरुद्ध छ । 

अर्थ मन्त्रालयले मंसिर २४ गते उक्त सडक स्तरोन्नति निम्ति बजेट सुनिश्चित गरेकाले काम सुचारु गर्न उद्योग, वाणिज्य तथा आपूर्र्ति मन्त्रालयलाई पत्र पठाएको प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।

हाल रसुवा नाकाबाट आयात तथा निर्यात शून्य छ । नाकामा बाढीअघि बचेका कन्टेनरहरू आयात हुँदा करिब ३८ करोड ८१ लाख ८८ हजार रुपैयाँबराबरको वस्तु भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

उता, तातोपानी नाकाबाट चार महिनासम्म १३ अर्ब ३५ करोड ११ लाख १६ हजार रुपैयाँबराबरको आयात भएको छ । यो २८ भन्सार नाकामध्ये २.१९ प्रतिशत हिस्सा हो ।

तर, रसुवा नाका पाँच महिनादेखि अवरुद्ध हुँदा व्यापार प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् । उनका अनुसार, त्यतिबेला करिब आयातका सामान बोकेका २५० नेपाली कन्टेनरहरू केरुङमा अड्किएका छन् ।

पुल भत्केपछि ती गाडीहरू ल्याउन दिइएको छैन । भन्सारको तथ्यांकले रसुवाबाट आयात भएको देखाए पनि ती गाडीहरू बाढी आउनुअघि यार्डमा बाँकी बसेका २०–३० वटाका सामानहरू मात्र रहेको कार्कीले स्पष्ट पारेका छन् । अन्यथा, नाका ठप्प छ ।

असारदेखि मंसिरसम्म झन्डै पाँच महिना भइसक्दा पनि बेली ब्रिज बनेको छैन । कार्की भन्छन्, “रसुवा नाका गत असार २२ गतेबाट बन्द छ । नाका खुलाउन बेली ब्रिज हाल्ने कार्य भइरहेको छ । तर यो काम एकदम ढिलो भएको छ ।’’
उनका अनुसार, उता तातोपानी नाकाबाट चीनले सीमित संख्यामा मात्र गाडी छोडेका कारण व्यवसायीहरू मारमा परेका छन् । यहाँबाट गाडीहरू एकदमै कम मात्रामा छोडिएका छन् । दिनमा कहिले पाँचवटा, कहिले आठ वा १० वटा, कहिले १५–२० वटा गाडीहरू मात्र छाड्ने गरिएको छ । कोटा प्रणालीजस्तै गरी छोड्ने गरेको देखिन्छ ।

तातोपानी नाकाबाट गाडी नछाड्नुको मुख्य समस्या चिनियाँहरूबाटै भएको छ । चिनियाँ पक्षले खासामा पूरै भत्काएर नयाँ संरचनाहरू बनाइरहेको र गाडी छाड्दा काममा ‘डिस्टर्ब’ हुने बहाना बनाएको संघका अध्यक्ष कार्की बताउँछन् ।

संघले कम्तीमा पनि दिनमा ४०–५० वटा कन्टेनर छाडिदिन आग्रह गरेको छ । उनका अनुसार, बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा मात्र छाडिँदा पनि ४०–५० वटा गाडी छोड्न समस्या हुँदैनथ्यो । त्यस निम्ति आग्रह गरिएपनि सुनुवाइ भएको छैन ।

फलफूल र चाडपर्वलक्षित सामान अड्किए
तातोपानी नाकाको न्यालाम साइडमा करिब तीनदेखि चार सय जति फलफूल बोकेका गाडीहरू अड्किएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार, ती गाडीका फलफूलहरू लागतभन्दा पनि बिग्रिने जोखिममा छन् ।

यसैगरी, नाकाहरूमा अड्किएका अधिकांश सामानहरू चाडबाड सुरु हुनुअगावैदेखिका हुन् । “सानो पुँजी भएका व्यापारीहरूका लागि यो ढिलाइ ठूलो समस्या बनेको छ । सामान बाटोमै अड्किएका कारण उनीहरूले नयाँ सामान समुद्री मार्गबाट पनि हाल्न सक्ने अवस्था छैन,” कार्कीले बाह्रखरीसँग भने ।

उनका अनुसार, रसुवा वा तातोपानी नाकाबाट सामान काठमाडौं आइपुग्न १२ देखि १३ दिन लाग्छ, तर समुद्री मार्गबाट ल्याउँदा ५५ देखि ६० दिन लाग्ने भएकाले लामो बाटो प्रयोग गर्दा लागत पनि बढ्ने गर्छ ।

रसुवा नाकाको पुल चाइनिजहरूले बनाइदिने कमिटमेन्ट भएको थियो । तर, त्यो बाटो कहिले बन्छ भन्ने निश्चित छैन । 

यता, तातोपानी सडकमा समस्या नरहेको र गाडी छाड्ने हो भने दिनमा ४०–५० वटा गाडीलाई आउन समस्या देखिँदैन ।

तातोपानी नाका प्रमुख कमल भट्टराईले नेपालतिर अवरोध नभएको तर चीनतर्फ (केरुङपट्टी) गाडीहरू जाँचपासमा ढिलो हुँदा कन्टेनर पारी अड्किएको बताए । यद्यपि, नाकाको गोदाममा आइसकेका सवारीसाधन र अरू सामानहरू भने नेपालतर्फ ल्याउन सकिने अवस्था रहेको उनले जनाए ।

सडक स्तरोन्नति नहुँदा स्थानीय रुष्ट
भट्टराईका अनुसार, तातोपानी नाकामा स्थानीय बासिन्दाले सडकको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि स्थायी संरचना निर्माणको माग गर्दै थालेको अवरोधका कारण गत शनिवारदेखि नाकाबाट हुने सवारी आवागमन पूर्ण रूपमा ठप्प छ ।

यस्तो अवरोध नेपालतर्फ भन्सार कार्यालयदेखि करिब डेढ किलोमिटरमाथि कोदारीको पहिरो गएको ठाउँमा केन्द्रित छ । उनका अनुसार, स्थानीयहरूले सडकमा ढुंगा राखेर आवागमन रोकेका थिए । उनीहरूको मुख्य गुनासो सडक स्तरोन्नतिमा ढिलाइ हुनु र पहिले दिइएको सरकारी प्रतिबद्धता पूरा नहुनु हो । 

पहिले जब बाटो बिग्रिएको थियो, तब सरकारी पक्षबाट कार्तिक महिनासम्म स्थानीयको इच्छाअनुरूप स्थायी संरचना बनाउने गरी काम गर्ने प्रतिबद्धता गरिएको थियो । तर, कार्तिकसम्म टेन्डर (बोलपत्र) सम्बन्धी कुनै जानकारी नआएपछि स्थानीयले आन्दोलन गरेका हुन् ।

स्थानीयको मागमा विशेषगरी पहिरो गएको र माथिबाट पानी बग्ने ठाउँहरूमा रिटेनवाल हाल्नुपर्ने र तल बाटोको जग अलि दरो बनाउनुपर्नेे छ । उनीहरूको भनाइ उद्धृत गर्दै नाका प्रमुख भट्टराईले भने, “हिउँदमा बाटोलाई वास्ता नगर्ने र वर्षा लागेपछि मात्र काम गर्ने प्रयास हुने गर्छ । यसप्रति स्थानीय रुष्ट भएका हुन् ।”

तथापि, सडक विभागले उक्त क्षेत्रमा निर्माण गरिने संरचनाको लागत अनुमान तयार गरेको भन्ने सुनिएको उनले जानकारी दिए ।

स्रोत सुनिश्चितताको पत्र 
बजेट अभावका कारण रोकिएको महत्त्वपूर्ण सडक निर्माणका काम अगाडि बढाउन अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई स्रोत सुनिश्चिततासम्बन्धी पत्र बुधबार (मंसिर २४) पठाएको प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिए । 

अर्थ मन्त्रालयले बाटो बनाउन आवश्यक रकमको सुनिश्चितता गरिएको जनाउँदै तत्काल निर्माण कार्यको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले पठाएको पत्रमा भनिएको छ, “सडक विभागलाई त्यहाँ काम सुरु गर्नु, त्यो काममा बजेट अभाव हुँदैन, हामीले स्रोतको सुनिश्चितता गरेका छौँ ।” 

अब काम अघि बढाउने जिम्मेवारी र प्रक्रिया अगाडि बढाउने काम सडक विभाग अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको हो ।

उता, तातोपानी नाकाको पूर्वाधार पूरै तयार अवस्थामा रहेको र पूर्वाधारमा कुनै समस्या नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।

उनी भन्छन्, “प्रमुख नाका रसुवामा भने व्यापारिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको छ । रसुवामा बेली ब्रिज चीनले बनाउँदैछ । उक्त पूर्वाधारको निर्माण नसकिएको कारण हालसम्म हस्तान्तरण गरिएको छैन ।” 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्