सुर्खेत । कर्णाली प्रदेशका मानवअधिकारकर्मीहरूले जेनजी आन्दोलनका दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् । सुर्खेतमा बुधबार मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको नागरिक संवादमा उनीहरूले भदौ २३ र २४ गतेको घटनाका जिम्मेवारहरूलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।
नागरिक समाजका अगुवा पिताम्बर ढकालले कानुनी शासन भएको मुलुकमा राज्यको दमन तथा आन्दोलनमा भएको ध्वंशलाई स्वीकार गर्न नसकिने बताए । मानिसहरू अझै भयमा रहेको भन्दै उनले राज्यले शान्ति, सुरक्षा र मानवअधिकारको रक्षाको वातावरण बनाउनुपर्ने बताए ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले आन्दोलनका नाममा हुने मानवअधिकार हननका घटनाहरूमा राज्यले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए । आन्दोलनका नाममा आधारभूत मानवअधिकार हनन गर्ने छुट कसैलाई पनि नभएको उनको भनाइ छ ।
त्यस्तै, प्रेमकिरण विश्वकर्मा, टंक रिजाल, आदर्श सिंहलगायतले मानवअधिकारको रक्षा नहुँदा लोकतन्त्र संकटमा पर्ने अवस्था आएको बताए । जेनजी आन्दोलनमा भएको अपराधिक घटनाका दोषीलाई कारबाही हुनुपर्ने बताए ।