काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागिपरेको बताएकी छन् । बुधबार (मंसिर २४) काभ्रेको धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा उनले शैक्षिक संस्थामा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी हुन् ।
उनी उक्त विश्वविद्यालयका कुलपति समेत हुन् । कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा सरोकारवालासँग गम्भीर परामर्श गरिरहेको जानकारी दिइन् ।
“...यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भनिन्, “नेपालको उच्च शिक्षालाई सुधार गर्न काठमाडौं विश्वविद्यालयले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुसरण गर्नुपर्ने मैले देखेको छु ।” न्युज एजेन्सी नेपाल