काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।
लिग चरणमा रवाफिलो प्रदर्शनसहित सुदूरपश्चिम शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेका हुन् । सात खेल खेल्दा सुदूरले ६ र विराटनगरले पाँचमा जित निकालेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा यो खेल अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ ।
दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
यो सिजन सुदूरपश्चिमको सानदार लयमा सबैभन्दा महत्त्वपूर्ण प्रदर्शन कप्तान दीपेन्द्रसिंह ऐरीको छ । उनी बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा अब्बल छन् ।
दीपेन्द्रले ब्याटिङतर्फ ६ इनिङमा १४६ रन बनाएका छन् । उनको ब्याटिङ स्ट्राइक रेट १४६ को छ । बलिङतर्फ उनले सात इनिङमा सात विकेट लिएका छन् । फिल्डिङमा पनि दीपेन्द्रको प्रदर्शन अब्बल छ ।
यही उत्कृष्ट प्रदर्शनका कारण विराटनगरविरुद्ध दीपेन्द्रको लयले सुदूरपश्चिमको आगामी यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।
फाफ डु प्लेसिस (विराटनगर किंग्स)
पहिलोपटक नेपालको फ्रेन्चाइज क्रिकेटमा रमाइरहेका फाफ डु प्लेसिसले विराटनगरबाट दुई खेल खेल्दा ६२ रन बनाएका छन् । उनले यसअघि लिग चरणमा सुदूरपश्चिमविरुद्ध नै विस्फोटक ब्याटिङ गर्दै २० बलमा ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । दुई इनिङमा फाफको स्ट्राइक रेट २१३.७९ को छ । आजको खेलमा सुदूरपश्चिमविरुद्ध फाफको इनिङले विराटनगरको आगामी यात्रा तय गर्न सक्नेछ ।
सन्दीप लामिछाने (विराटनगर किंग्स)
यो सिजन बलिङमा विराटनगरका कप्तान तथा मार्की सन्दीप लामिछानको प्रदर्शन रवाफिलो छ । उनले यो सिजन सात खेल खेल्दा १५ विकेट लिएका छन् । सन्दीप हालसम्म प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी समेत हुन् ।
उनको इकोनोमी रेट समेत यो सिजन ६ भन्दा तलको छ । सन्दीपले यो सिजन सात खेलमा कुल २८ ओभर बलिङ गर्दा १४३ रन खर्चिएका छन् ।
अभिनाश बोहरा (सुदूरपश्चिम रोयल्स)
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहराले यो सिजन सनसनी मच्चाइरहेका छन् । नेपाली क्रिकेटमा ‘डेथ ओभर स्पेसलिस्ट’को उपनामबाट परिचित अभिनाशले यो सिजन सात खेल खेल्दा १४ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
उनको इकोनोमी रेट ७.८१ को छ । अभिनाशले जारी सिजन सात इनिङमा २२ ओभर फ्याँक्दा १७२ रन खर्चिएका छन् ।