site stats
बाह्रखरी :: Baahrakhari
खेल
रेनुले एसियन युथ पारा गेम्स खेल्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा यही मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

उनको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनेछन् । नेपाली टोली सोमबार (मंसिर २२) राति दुबई प्रस्थान गरेको छ । रेनुले मंसिर २६ गते प्रतिस्पर्धा गर्नेछिन् ।

नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत संघका पदाधिकारीले बिदाइ गरेका थिए ।

रेनुले यसअघि मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उनले केही समयअघि सम्पन्न १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी थिइन् ।

नेगीको प्रशिक्षणमा नेपालले तीन स्वर्ण, दुई रजत र सात कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ । उनकै प्रशिक्षणमा सन् २०२१ मा बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन पलेशा गोर्वधनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्यपदक जितेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्