काठमाडौं । बंगलदेशी टिम नस्रिन स्पोर्ट्स क्लबका मुख्य प्रशिक्षक मोनिर हुसेनले टिम फाइनलको निम्ति आशावादी रहेको बताएका छन् । सोमबार साफ महिला च्याम्पियनसिपअन्तर्गत पाकिस्तानी टिम कराची सिटी एफसीसँगको बराबरीपछि आगामी खेलमा सकारात्मक नतिजा हासिल गर्ने जनाउँदै मुख्य प्रशिक्षक हुसेनले टिम फाइनलका निम्ति आशावादी रहेको बताएका हुन् ।
“म धेरै सकारात्मक र आशावादी छु । आगामी खेलको निम्ति ६ दिनको समय बाँकी छ । यो पुनरागमन गर्नको निम्ति पर्याप्त छ । बाँकी खेलहरूमा हामी पर्याप्त तयारीका साथ आउने छौँ । हामीले प्रतिद्वन्द्वीहरूको खेल हेरेका छौँ । टिमलाई बलियो बनाउन आवश्यक रणनीति बनाएर प्रदर्शन सुधार्नेछौँ,” मुख्य प्रशिक्षक हुसेनले भने ।
बराबरीसँगै नस्रिनले प्रतियोगितामा पहिलो अंक जोडेको छ । योसँगै टिम तालिकाको चौथो स्थानमा उक्लिएको छ । चारमध्ये दुई खेल खेलेको नस्रिनले हालसम्म एक हार र बराबरीसहित एक अंक जोडेको हो । नस्रिनलसँगै कुल पाँच टिमको सहभागिता रहेको यो प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने छ ।