धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । गएको असोज २५ गते सुनसरीको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा गोली हानी सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीको हत्या गरिएको घटनामा संलग्न आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, सोही ठाउँका ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज नगरपालिका–१६ का २८ वर्षीय अंकित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले जानकारी दिए ।
असोज २५ गते साँझ प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीमाथि अपरिचित व्यक्तिहरूले गोली प्रहार गरेका थिए । उक्त घटना अनुसन्धानका निम्ति छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानमा चौधरीले ‘तन्त्रमन्त्र गरी’ परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गराएको देखिएको एसपी थेबेले बताए । सोही योजनाअनुसार रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार गरिएको अनुसन्धानका क्रममा खुलेको छ ।
सुनसरी र सप्तरीका विभिन्न ठाउँबाट पक्राउ परेकाहरूले प्रारम्भिक सोधपुछका क्रममा घटनामा संलग्नता स्वीकार गरेका प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस