site stats
बाह्रखरी :: Baahrakhari
देश
अनियमित मौसम चक्रले किसानलाई हैरानी

काठमाडौं । वर्षौंदेखि कृषि पेसा अंगालिरहेका धादिङको गजुरी गाउँपालिका–३, पुराक्सिङका रामकुमार चेपाङ बदलिँदो कृषि चक्रले आजित छन् । बाली लगाउने समयमा पानी नपर्नु, खडेरीले बाली सुक्नु, रोग–किराको प्रकोपले हैरानी व्यहोरिरहेका छन् ।

गत चैतमा लगाएको मकै गोडमेल गर्न नपाउँदै खुम्रे किराले नष्ट गरिदियो । माटोभित्रै पसेर जरा नै खाइदिएपछि हुर्कंदै गएको मकैको बोट विस्तारै सुक्दै गयो । बाली भित्र्याउने बेला लगानीसमेत उठेन । “किराले प्रायः सबैजसो मकैबाली सखाप बनाइदिएको थियो,” उनले भने, “वर्ष दिनलाई पुग्ने खेती हुने ठाउँमा पछिल्ला वर्ष बजारको भर पर्नुपरेको छ ।”
 
२०७२ साल यता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको छ । एक साल न्यून देखिन्छ भने एक साल किसानले बाली भित्राउनै पाउँदैनन् । एक वर्ष घोप्टो पर्ने (भित्रभित्रै दबिने) एक वर्ष उत्ताने पर्ने हुन्छ । किराले माटोभित्रभित्रै पसेर बोटविरुवाको जरा काट्ने गर्छ, जसका कारण बोटविरुवा मर्ने गर्छ । उनी भन्छन्, “मकै नछरौँ भने बाली लाग्छ कि भन्ने लोभ लाग्छ, लगायो किराले नाश गरिदिन्छन् ।”
  
खुम्रे किरा माटोभित्र बसी बाली बिगार गर्नेमध्ये सबैभन्दा विनाशकारी किरा हो । यसले मकै उम्रिसकेपछि कलिलो विरुवाको जराहरू खान्छ । जसले गर्दा विरुवा बढ्न सक्दैन र पछि सुक्दै जान्छ । विशेषगरी लार्भा अवस्थामा यसले बढी क्षति पुर्‍याउँछ ।
 
धादिङको गजुरीका अधिकांश ठाउँमा खुम्रे किराको प्रकोप पछिल्ला वर्ष बढ्दै गइरहेको छ । अझ मकैमा देखिएको फौजी किराको प्रकोपले जिल्लाभरका किसान आजित भइरहेका छन् । “यो किरा राति बढी सक्रिय हुन्छ । एकै रातमा ठूलो क्षेत्र खाइसक्न सक्छ,” उनी भन्छन्, “जति ढिलो पत्ता लाग्यो, त्यति ठूलो क्षति बनाइदिन्छ ।” 

खाद्य अधिकारको क्षेत्रमा क्रियाशील संस्था फियान नेपाल धादिङका अध्यक्ष एवं खाद्य अधिकारकर्मी गोकर्ण रुपाखेती जलवायु परिवर्तनका कारण समग्र कृषि क्षेत्रको उत्पादन क्यालेन्डरमा असर पारिरहेको बताउँछन् । 

“जलवायु परिवर्तनको प्रभावका कारणले धान, मकै, गहुँ, कोदोजस्ता खाद्य बालीहरूको उत्पादन स्वरुप परिवर्तन भइरहेको छ,” उनले भने, “छिटो पाक्ने बाली ढिलो पाक्न थालेको छ, ढिलो पाक्ने छिटो पाक्न थालेको छ । हिजोका खाद्यबाली लोप हुने अवस्थामा छ । यो जलवायु परिवर्तनकै कारणले हो ।” 

makai-bari-1765165522.JPG
 

नेपालको कृषिमा जलवायु परिवर्तनको प्रभाव सबैभन्दा गहिरो छ । कृषिको आधार नै मौसम र पानी भएकाले वर्षा ढाँचामा आएको परिवर्तनले किसानलाई दिनदिनै नयाँ चुनौती थोपरेको छ । खेतीबाली लगाउने समयमा पानी नपर्ने अनि भित्र्याउने बेला पानी परिरहेको अवस्था छ ।

“बाली लगाउँदा बीचमै के होला भन्ने डरैडर हुन्छ । पानी नपरेर सुक्छ, आएपछि बिग्रन्छ,” अर्का किसान कृष्णबहादुर प्रजा बताउँछन् । यो किरा राति बढी सक्रिय हुन्छ । एकै रातमा ठूलो क्षेत्र खाएर सक्न सक्छ, जति ढिला पत्ता लाग्यो, त्यति ठूलो क्षति हुने गरेको किसानहरू बताउँछन् । 

मौसमको उतारचढावले रोग–किराको प्रकोप बढ्दो
नेपालमा पछिल्लो समय खडेरी, धेरै पानी पर्ने, अत्यधिक तापक्रमजस्ता मौसमी परिवर्तन देखिएको छ । यसले कृषि क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याइरहेको छ । बाली विरुवा, पशुपन्छी, मत्स्य क्षेत्र प्रभावित देखिन्छ ।

असारमा पर्नुपर्ने वर्षा सरेर साउन–भदौ–असोजमा झर्दा धान उत्पादन अस्थिर छ । अनियमित वर्षा, लगातार तापक्रम वृद्धि र खेतबारीको चक्र बिग्रनुले कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर रूपमा परेको अनुमान गर्न सकिन्छ । 

“समयमा नपर्ने पानीले रोपाइँपछि धकेलिदिएको छ । असिनापानीले बालीको चरणमै क्षति पुर्‍याएको छ । उच्च तापक्रमले बाली परिपक्वतामा असर पारेको छ । चर्को गर्मीपछिको अचानक पानीले रोग–किरा तीव्र फैलाइरहेको छ,” खाद्य अधिकारकर्मी रुपाखेतीले भने, “यसले खाद्य प्रणाली नै असुरक्षित हुँदै गइरहेको छ ।”

खाद्य असुरक्षा बढ्ने संकेत
जति मौसम परिवर्तन हुँदै बाली लगाउने चक्र घुम्न थाल्यो त्यति नयाँ नयाँ किरा, रोग प्रकोप देखिन थालेको छ । यसले खाद्य उत्पादनको क्षमतालाई ह्रास गराइरहेको खाद्य अधिकारकर्मी रुपाखेती बताउँछन् ।
 
मकै बालीमा खुम्रे, फौजी किराको प्रकोपले खाद्य असुरक्षा बढाएको छ । मकैको जरामा किराले नाश गर्दा किसानको मेहनत खेर मात्रै होइन माटोको उर्वराशक्ति नै कमजोर बनाइदिएको छ । उत्पादन क्षमतालाई ह्रास बनाउँदै गएको छ ।

किसानहरू केवल बाली गुमाउने डरमा मात्रै छैनन् । उनीहरूको घर खर्च, पशुको दाना र भोकमरी जस्ता मुद्दा पनि यसैसँग गाँसिएका छन् । “बुबा–बाजेदेखि नै कृषि पेसा अंगालिरहेका छौँ, पहिलेको जस्तो अहिले आम्दानी पनि छैन, आफूलाई खानसमेत पुग्दैन,” किसान प्रजाले सुनाए । 

kira-1765165521.JPG
 

मकैबाली जोगाउन किसानहरूले बजारमा पाइने कडा विषादीहरू प्रयोग नगरेका होइनन् । पटकपटक विषादी छर्कंदा माटोको उर्वराशक्ति नै कमजोर बनाइदिएको छ । अहिले कडा किसिमको विषादी हाल्दा कुनै प्रभाव नपर्ने स्वयं किसानहरू बताउँछन् । यसले उत्पादन, रोजगारी, पोषणलगायत विषयमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।
  
के गर्नुपर्छ ?
पहिले पहिले असार १५ भित्रै खेत रोपाइँ गरेर सकिन्थ्यो तर, अहिले पछि सरेको छ । असार अन्तिमदेखि मात्रै सुरु गर्नुपर्ने अवस्था आएको किसानहरूको अनुभव छ । साउन अन्तिमतिर पनि पानी नपर्दा/नपुग्दा रोपाइँ गर्न नसकिने अवस्था सिर्जना हुन थालेको छ । 

त्यस्तै, मकै छर्ने समयमा पानी नपर्ने र खडेरीले बोट नै सुक्ने समस्या किसानहरूले पटकपटक व्यहोरिरहेका छन् । 
किसानले अब बाली समय तालिकामै परिवर्तन गर्नुपर्ने रुपाखेती बताउँछन् । 

“प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न, यसलाई कम गर्न बाली लगाउने चक्रमा ध्यान दिनुपर्छ, बीउविजनमा पनि ध्यान दिनुपर्छ,” रुपाखेतीको सुझाव छ, “खाद्य बाली, उत्पादन क्यालेन्डर र बाली लगाउने समयमा केही परिवर्तन गर्नुपर्ने देखिन्छ । बाली समय तालिकामै परिवर्तन गर्नुपर्ने देखिन्छ ।”

प्रकोप नियन्त्रणमा स्थानीय सरकारको प्रयास
खुम्रे किरा नियन्त्रण गर्न गजुरी गाउँपालिकाले किसानहरूलाई ‘लाइट ट्रयाप’ उपलब्ध गराएको थियो । यसले केही मात्रामा किराको प्रकोपलाई नियन्त्रण समेत गरेको थियो । तर, विद्युत् खर्च धान्न नसकेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख शर्मिला सुवेदीले जानकारी दिइन् ।
 
“खुम्रे किराको प्रकोपलाई नियन्त्रण गर्न पुराक्सिङका ३० घरधुरीमा ‘लाइट ट्रयाप’ जडान गरिएको थियो । तर, बिजुलीबत्तीको खर्च धान्न नसकिने रहेछ,” सुवेदीले भनिन् ।

‘लाइट ट्रयाप’ रातिको समयमा बत्ती बालेर किरा मार्ने प्रविधि हो । रातको समयमा बत्तीमा किरा आकर्षित हुन्छन् र बत्तीमा आउँदा किरा झरेर भुइँमा राखिएको पानी भएको भाडोमा खुम्रे किराको माउ खपटे किरा परेर मर्छन् ।
 
कृषि ज्ञान केन्द्रले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गराएको छ । जैविक औषधि वितरणदेखि किसानलाई तालिमको समेत व्यवस्था गरेको छ । 
फाइल तस्बिर ।
 

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्