काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानवअधिकार राष्ट्रिय महाभेला सोमबारदेखि ललितपुरमा सुरु हुने भएको छ ।
आइतबार (मंसिर २१) पत्रकार सम्मेलन गर्दै मानवअधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो । यही मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा मानवअधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा बीसीले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिइन् । उनका अनुसार यस वर्षको महाभेला ‘मानवअधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ ।
अध्यक्ष बीसीले महाभेलामा राष्ट्रिय मानवअधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानवअधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने बताइन् ।
उनले नेपाल मानवअधिकार पक्ष राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता पूरा गर्ने प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सरकारलाई सचेत गराउन महाभेलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । महाभेलामा देशभरबाट करिब एक हजारभन्दा बढी मानवअधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ । न्युज एजेन्सी नेपाल