site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैन : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औं वार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा सहभागी नगराउने प्रचलन अन्त्य गर्नुपर्ने बताए । कुनै पनि परिवर्तनपछि आर्थिक र नीतिगत पक्षमा एक भएर अघि बढ्ने कुरामा नेपाल पछि परेको जिकिर उनको थियो । 

निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न नसक्ने बताउँदै उनले भने, “हामीकहाँ प्राइभेट सेक्टरलाई हेर्ने दृष्टिकोण र प्राइभेट सेक्टरलाई सहभागी गराउने कुरा भरसक नगराउने चलन छ । फलस्वरूप जुनसुकै आन्दोलनबाट व्यवस्था परिवर्तन हुँदाखेरि पनि हाम्रा नीतिगत कुरा, खासगरी इकोनोमिक एजेन्डामा अगाडि बढ्ने कुरामा हामी पछाडि परेका छौँ ।”

निजी क्षेत्रलाई टाढा राखेर बनाउने हरेक पोलिसी प्रभावकारी बन्न नसक्ने उनको धारणा थियो ।

“इकोनोमिक एक्टिभिटी बढाउने कुरा सम्भव हुँदैन । यो प्रमाणित पनि भइसकेको छ । जबसम्म कलेक्टिभ हिसाबको एप्रोचमा जान सक्दैनौँ तबसम्म हामीले रियल खोजेको रिजल्ट आउन सक्दैन,” उनले भने । 

अध्यक्ष ढकालले आन्तरिक पुँजी परिचालन गरेर धेरै ठूला आयोजनाहरु बनाउन सकिने बताउँदै नेपालमा केही सम्भावना छैन भन्ने स्थानबाट नेपालमै सम्भावना छ भन्ने सन्देश आफूहरुले दिन सकेको धारणा राखे । 

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्