site stats
बाह्रखरी :: Baahrakhari
देश
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी

ओखलढुंगा । ओखलढुंगाको ढेबुवाका स–साना विद्यार्थी ‘रबरबोट’को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । 

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुंगे  पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुवाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । 

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थी छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । 

बाढीले पुल बगाएपछि विद्यार्थी लामो समय पढाइबाट वञ्चित भएका थिए । केही समय अगाडि गृहमन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गंगा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए । बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।
 
ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल  नगरेको उनको भनाइ छ । 

बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । 

तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ । 

सुनकोसी नदी किनारमा बिहान ५ बजेदेखि नै विद्यार्थी भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसईईको तयारीमा रहेका विद्यार्थी बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ बजे सुनकोशी किनारमा आउने गरेका छन् ।

विद्यार्थी तार्न तीनवटा बोट राखिएको छ । जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ । 

बाढीले पुल बगाएपछि दश मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । रासस

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्